कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा अस्पताल सञ्चालन

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि जुम्लामै ‘नेत्र रोग विभाग’ आँखा अस्पताल सञ्चालनमा आएको हो ।

आइतबार एक भव्य समारोहबीच विश्व प्रसिद्ध डाक्टर सन्दुक रुईतले  विभागको औपचारिक उद्घाटन गरे । विभाग उद्घाटनसँगै जुम्लामा आँखा अस्पताल सञ्चालनमा आएको छ ।
सुरुमा आँखा अस्पतालमा हातद्वारा गरिने शल्यक्रिया सुरु गरिने भएको छ । भने छिटै फेको प्रविधिबाट शल्यक्रिया गर्ने तयारी भईरहेको छ । आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत हुनुले कर्णालीबासी उत्साहित भएका छन् ।

डाक्टर रुइतले जुम्लामै आँखाको उपचार सुरु हुनु निकै सुखद पक्ष भएको बताए। अन्य सम्भावनासंगै आँखा उपचारका दृष्टिलेपनि जुम्ला कर्णालीकै गन्तव्य स्थल भन्ने पक्का भएको उनको भनाइ छ ।

‘जुम्ला हुम्ला पुगेर सयौलाई आँखाको ज्योति फिर्ता गर्न पाउँदा खुसी छु । नियमित सेवा प्रवाह भएको खण्डमा वर्षमा दुई हजारको आँखाको मोती विन्दु शल्यक्रिया हुने छ । दुर्गममा बढ्दो आँखाको समस्यालाई मध्यनजर गर्दै जुम्लामै आँखा अस्पताल सञ्चालनमा ल्याइएको छ,´ उनले भने

प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल,रजिष्टार नृपेन्द्र महतको लगायतका पदाधिकारीको पहल तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा वर्षौपछि डेढ करोेडका उपकरण सहित जुम्लामै आँखा अस्पताल संचालन हुन सफल भएको प्रतिष्ठानका आँखा विभाग प्रमुख विश्वराज तिमिल्सिनाले बताए ।
उनका अनुसार डेढ करोड बढीको उपकरण ल्याएसंगै आँखा अस्पताल सञ्चालनमा आएको हो । अब आँखाको उपचारको लागि लाखौ खर्च गरेर काठमान्डौ जाने खर्चबाट सर्वसाधारणले मुक्ती पाउने घर आँगनमै उपचार पाउने छन् ।

प्रतिष्ठानको आफ्नै आँखा अस्पताल संचालनले प्रतिष्ठानको सेवा प्रवाहको विश्वसनयितामा एक ईट्टा थपिएको छ ।

उपकुलपति रावलले भने,‘तिलगंगा आँखा अस्पताल, फ्रेड हलोज अस्ट्रेलिज पाट्नरले केही सामग्री सहयोग गरेपछि आँखाको उपचार जुम्लामा थालिएको हो । कर्णालीमा देखिने आँखाका समस्याको समाधान अब प्रतिष्ठानले नै गर्नेछ ।’


आँखा विभागको सञ्चालनसँगै अब जुम्लामा आँखाको उपचारका लागि शिविर कुरेर बस्नुपर्ने अबस्थाको समेत अन्त्य भएको रजिष्टार नृपेन्द्र महतले बताए ।