रेशम अनुराग -जुम्ला
तातोपानी गाउँपालिकाले धावक दल बहादुर कुँवरलाई खर्च स्वरुप मासिक ५ हजार रुपैंया दिने घोषणा गरेकाे छ
एक पछि अर्को अल्ट्रा म्याराथनमा तहल्का पिटिरहेका २० वर्षीय धावक दल बहादुर कुँवरलाई (खाजा) खर्चका लागि मासिक ५ हजार रुपैंया दिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए जुम्ला रारा अल्ट्रा म्याथन, ताप्लेजुङ अल्ट्रा म्यारथन र रुकुम पश्चिमको गुरिल्ला अल्ट्रा म्यारथन जितेर इतिहास रचेका धावक कुँवरलाई खेल क्षेत्रमा थप प्रगतिका लागि गाउँपालिका सारथी बन्न चाहेको अध्यक्ष चौंलागाईले बताए ।
‘पारिवारिक र आर्थिक समस्याले प्रतिभा पलायन हुने समस्या छ, तर तातोपानी गाउँपालिका अनमोल सिप, क्षमता, कला र प्रतिभा संरक्षणको पक्षधर हो, गुम्न र हराउन दिदैनौं ।’ अध्यक्ष चौंलागाईले भने । आज सम्मान पत्र प्रदान गर्दै अध्यक्ष चौंलागाईले धावक कुँवरलाई प्रतिस्पर्धाको खुला दुनियाँमा अब्बल बनाउन प्रशिक्षक तथा किर्तिमानि धावक हरि रोकायाको महत्वपुर्ण हात रहेको बताए ।
धावक कुँवरलाई सफलताले पछ्याईरहेको अवस्थामा मात लागेर मेहनत र अनुशासन छायाँमा पर्न सक्ने तर्फा सचेत गराउँदै कर्मप्रति इमान्दार भएर लाग्न तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले सुझाव दिएकि छन् । ‘कलिलो उमेरमै असाधारण क्षमता छ, तर यो पनि भुल्नु पनि हुदैन कि भोली नयाँ रेकर्ड राख्नु पर्छ ।
मात्तिने र आत्तिने गर्नु हुदैन, सुख दुखमा तातोपानी गाउँपािलका सँगै उभिने छ ।’ उपाध्यक्ष रावलले भनिन् ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले धावक कुँवरलाई खर्च अभावले थप प्रतियोगिताको तयारी प्रभावित नहोस् भन्ने उदेश्यले मासिक ५ हजार रुपैंया उपलब्ध गराइने बताएका छन् । कर्णाली स्पोट्स क्लवका खेलाडीलाई खाजा खर्च जुटाउन मिल चलाएको प्रशिक्षक हरि रोकायाले बताए । प्रशिक्षक रोकायाले सुनाए, ‘म्यारथनमा जोडिने खेलाडी प्राय निम्न आय भएका परिवारका छन्, उनिहरुलाई अभ्यासका लागि डाइट (खाजा) प्रमुख सर्त हो, तातोपानीले अपनत्व लिएको देख्दा निकै खुसी लागेको छ ।’
बजारमा खान बस्नै समस्या भइरहेको बेला तातोपानी गाउँपालिकाको सहयोगले प्रेरणा थपेको धावक दल बहादुले बताए ।‘घरमा भने बमोजिक खर्च गर्न सक्ने स्थिति छैन, कहिलेकाँहि दौड बाहेकका विकल्प खोज्ने पनि कुरा चल्छ, तर यो दोधार र संकटको घडिमा तातोपानी गाउँपालिकाको सहयोग गर्ने खबरले हर्षित भएका छौं ।’ दल बहादुरका दाजु राजेन्द्र कुँवरले वताए ।
‘परिवार विपन्नता, अभाव सँग संघर्ष गरिरहेको छ, ठूलो लगानीमा पढ्ने वातावरण छैन तर सिंगो ज्यान नै दाउमा राखेर दौडका लागि होमिएको छुं,’ दलबहादुरल भने, ‘अव राष्ट्रको लागि दौडने धोको छ ।’
जुम्ला दर्पण । ६ भाद्र २०८०, बुधबार २३:१४