प्रिय आचाेलक
के गर्दै छौ?
काम गर्दै छौ कि काम गर्नेका खुट्टा तान्दै छौ?
जिवन पढ्दै छौ कि पढ्ने हरुको अक्षर मेट्दै छौ?
लेख्दै छौ कि लेख्ने हरुको कलम भाँच्दै छौ?
बोल्दै छौ कि बोल्नेहरुको जिब्रो थुत्दै छौ?
प्रिय आलोचक !
अस्त ब्यस्त त हौला नि हैन?
आज तिम्रो लागि पनि केही शब्द कोर्न मन लाग्यो
समय मिलाएर हेर है
आज तिम्रो प्रश्नको उत्तर लेख्न मन लाग्यो
फुर्सद मिलाएर पढ है
तिमिले गरेको आधार हिन आलोचना
मेरो लागी त फलिफाप भयो हेर न
मेरो क्षमता माथि तिमीले अन्धाधुन्ध उठाएको प्रश्न
मेरो लागी त अविष्मरणीय मार्गदर्शक भए हेर न
तिमीले कारण बिना नै तेर्स्याएका वाणहरु
मेरो लागी त टेक्दै हिड्ने लौरी भए हेर न
जुन शब्द माथि शंकालु भाव दर्साएउ
तिनै शब्दहरू तिम्रो लागि खर्चदै छु
प्रिय आलोचक
मौका मिल्यो भने पढ्नु है
तिमीले मेरो प्रतिभाको आलोचना गरेको भए
म तिम्रै अगाडी घुडा टेकेर सुधार्ने थिएँ
तर तिमिले मेरो पहिरन हेरेर आलोचना गर्यौ
म कसरि झुक्नु?
तिमीले मात्रा र शब्दको मुल्यांकन गरेको भए
म तिमीलाई उच्च निर्नायकको संज्ञा दिन्थे
तर तिमिले मेरो उमेर र अनुहारको मुल्यांकन गर्यौ
मैले कुन संज्ञा दिनु ?
तिमिले मेरो शैली र भावमा आक्षेप लगाएको भए
म तिमीलाई मेरो पुरस्कार नै सम्मान स्वरुप दिन्थे
तर तिमिले मेरो अन्तरनिहित सिपमा आक्षेप लगायौं
म तिमीलाई कुन शैलीमा सम्मान गरौं?
तिमीले मेरो गल्ति र त्रुटि औल्याएको भए
म तिमीलाई मेरो गुरु मान्ने थिएँ
न तिमिले गल्ती देखायौ न त्रुटि नै बुझायौ
म तिमीलाई के आधारमा अब्बल मानौँ?
प्रिय आलोचक!
नपत्याउने खोलाले बगाउँछ भन्थे
हो रहेछ
तिम्रो आधारहिन आलोचनाले
कति आत्मसन्तुष्टि दियो
त्यो तिमिलाई नै थाहा होला
तर…….
मलाई सयौँ अवसरको आसन ओच्छ्याइदिएको छ
तिमिलाई म कमजोर भन्दिनँ
तिमिलाई म घातक मान्दिनँ
तिमिले त मलाई सजग बनाएको हौ
तिमिले त मलाई सचेत बनाएको हौ
तिमि कुशल आलोचक हौ
तर……
तर सहि लाई सहि र गलत लाई गलत भन्न सक्ने
समालोचक चाहिँ पक्कै होइनौ
तिमीले आलोचना गर्दा गर्दै सोच्नुपर्थ्यो
फुललाई सुवास दिन
तिमीले निवेदन गरिरहन पर्दैन भनेर
तिमीले मुल्यांकन गर्दा गर्दै बुझ्नुपर्थ्यो
बाहिर आवरणले
कसैको अस्तित्व जनाउदैन भनेर
तिमीले प्रश्न गर्दा गर्दै जान्नु पर्थ्यो
कसैको अनुहार र उमेर
उसको योग्यता र उद्देश्यको प्रतिक होइन भनेर
अब म तिमीलाई के भनुँ खै!
कस्तो अवोध है त नि!
आफ्नै आलोचक लाई आलोचना गर्ने
तरिका पढाउनुपर्छ मैले
अवोध र अर्धज्ञानी भएपनि तिमी
कमजोर त पक्कै होइनौ
पहिलो मुलाकातमै मुल्यांकन गर्ने
आँट राख्यौं
तिमी आत्माविश्वासहिन त पक्कै होइनौ
तिमीले गरेको आधार हिन प्रश्न
मेरो कविता लाई होइन
मेरो अवस्था लाई थियो
“मेरा बा” लाई थियो
मेरो क्षमता लाई थियो
मेरो स्वभिमान लाई थियो
मेरो पहिचान लाई थियो
तिमी आफुले गरेको प्रश्न बिर्सेउला
तर…….
मैले दिने उत्तरहरु कदापि बिर्सिने छैनौं
तिमीलाई आफुले प्रश्न गर्दा बडो गर्व
लागेको थियो होला
तिमीले गरेको प्रश्नले म मौन बसेको होइन
तिमीलाई अझै सोध्ने समय दिएको हो
तिमीले आफ्नो प्रश्नलाई प्रश्न चिन्ह ले टुङ्ग्याइसकेको छौ
अब मेरो पालो
म किस्ता किस्तामा तिमीलाई कण्ठ हुनेगरी
उत्तर दिँदै जान्छु
तिम्रो प्रश्न चिन्ह जस्तो
मेरो उत्तरमा पुर्णबिराम कहिल्यै लाग्ने छैन
म शब्द शब्दमा, वाक्य वाक्यमा र किस्सा किस्सामा
अनन्त सम्म
अविरल रुपमा
आलाङ्कारिक शैलीमा तिमीलाई उत्तर दिइरहने छु
ताकि तिमिलाई फल नझर्ने रुखमा झटारो हानेछु
भनेर पश्चताप नहोस्
तिम्रो आधार हिन प्रश्नको जवाफ
यति धेरै दिनेछु कि
तिमिलाई आगामि प्रश्न गर्दा नयाँ ज्ञान मिलोस्
तिम्रो आलोचित भावको संकेत
यति अमुल्य र अचुक दिनेछु कि
तिमिलाई मुल्य र मर्म दुबैको आभाष होस्
प्रिय आलोचक !
के तिमी फुर्सदमा छौ?
छौं भने यति अमुल्य शब्द
तिम्रै प्रश्नको प्रति उत्तरको सुरुवाती हुन्
यो मेरो कविता
तिम्रो आलोचनाको जवाफको शिलान्यास हो
यो मेरो कलामको मसी
तिम्रै आशंकाको अदालतमा प्रमाण दिने आरम्भ हो
फुर्सद भए एक पटक मात्र भए पनि पढ है
एक पटक मात्र भए पनि हेर है
नबुझे म अर्थ्याइदिउलाँ
तिमि जस्तो अर्ध हुन चाहान्न म
तर एक पटक पल्टाएर हेर है
प्रिय आलोचक फेरि भेटौला
म जवाफमा पुर्णबिराम लागाउने छैन
प्रिय आलोचक फेरि लेखौँला
म लेखनमा पुर्णबिराम लागाउने छैन……
लेखक – जयन्ता खत्री “सुधा”/जाजरकोट
जुम्ला दर्पण । ८ भाद्र २०८१, शनिबार १३:२३