दर्पण संवाददाता, जुम्ला : मुगु जिल्ला कार्मारोङ गाउँपालिका – ३ पाखा की २८ वर्षीया मिन्दिक लामालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । लामा चार दिनअघि सुत्केरी हुन कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन् ।
लामाको टाउकोमा रगत जमेपछि आकस्मिक रुपमा उद्धार गरि काठमाठौँ पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक राजिव शाहका अनुसार यस्तो अवस्थामा तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ ।
न्यूरो सम्वन्धी शल्यशिया प्रतिष्ठानमा नहुने भएकोले काठमाडौँमा रिफर गरिएको उनले बताए । बच्चाको अवस्था सामान्य रहेको शाहको भनाइ छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत लामालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन् ।
प्रतिष्ठान स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गर्नु यो पहिलो हो । यसअघि उद्धार गर्नु परेको थिएन । जटिल केश भएका कारण उद्धार गर्नुपर्ने अवस्था आएको नन्दावक्स गण जुम्लाका गणपति रविन थापाले जानकारी दिए ।
जुम्ला दर्पण । १६ श्रावण २०७९, सोमबार १६:१८