जुम्लाको तिला गाउँपालिका वडामै पुगेर योजना सम्झौता गर्दै

प्रकाश बि.क

जुम्लाकाे तिला गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने गरेको छ । पालिकाको नेतृत्व निर्माणका अभ्यासस्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यमलाई कार्यान्वयन गर्न वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौताकाे काम थालनी भएको गाउँपालिका अध्यक्ष माेतीलाल राेकायाले जानकारी दिए। नीति तथा कार्यक्रम र हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगरे उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । गाउँपालिकाले यहाँका  स्थानीयवासिको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौताकाे काम अगाडि बढेको गाउँपालिका अध्यक्ष राेकायाकाे भनाइ छ। स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष राेकाया सहितको कर्मचारीको टोलीले वडाका टोलटोलमा पुगेर योजना सम्झौताकाे काम वडा नम्बर ३ बाट सुरुवात भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । गाउँपालिकाबाट संचालनहुने योजनाहरू वडाबाटै सम्झौताकाे कामलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने ,” गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने योजनासहित बुधबार  वडा नं.३ मा पुगेर योजना सम्झौता गरेको हो । बुधबार सो वडामा चालु आर्थिक वर्षमा छनौट भएका  योजनाको सम्झौता गरिएको छ। गाउँपालिकाबाट विनियोजन भएका गाउँपालिकास्तरीय र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको  छ।  ”  याेजना सम्झौता गर्न बाकी उपभोक्ता समितीसंग दश दिन भित्र सम्झौता गरिसक्ने गरि वडामा कर्मचारी परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाकाे भनाइ छ। उपभोक्ता समितिलाई सुशासन कायम गर्न क्रियाशील, सिर्जनशील बनाई वडामै पुगेर प्राविधिक कर्मचारीदेखि प्रशासन शाखाका सबै कर्मचारी योजना सम्झौतामा लागिपरेको तिला गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चाैलागाईले बताए  । पालिकामा योजना मात्र सम्झौता गर्नका लागि आउन यहाँका कतिपय वडा धेरै टाढा रहेका छन् । गाउँपालिकासम्म योजना सम्झौता गर्न आउँदा कागजात अपुगहुने र उपभोक्तालाई खानबस्न समस्या हुने भएकाले पालिका नाैवटै वडामा पुगेर योजनाको सम्झौता गरिने गाउँपालिका प्रविधिक शाखाका प्रमुख चाैलागाईले जानकारी दिए । प्रधानमन्त्री राेजगार र मुख्यमन्त्री राेजगार कार्यक्रमका आयाेजनाकाे सम्झौता तथा बेरोजगार व्यक्ति दर्ता सम्वन्धी अभिमुखिकरण कार्यक्रम समेत वडामा हुने तिला गाउँपालिकाले जनाएको छ।