जुम्ला । मंगलबार राति चन्दननाथ-६ स्थित कारागारमा खटिएका प्रहरी र नाइकेलाई चिर्पटले हिर्काएर भागेका जुम्ला कारागारका ४ जना कैदीबन्दी फर्किएका छन् । कुल ४१ जना कैदीबन्दी भागेकोमा मंगलबार राति नै प्रहरीले ५ जनालाई नियन्त्रणमा लिइसकेको थियो । बुधबार दुई जना र बिहीबार दुई जना फर्किएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार ३२ जना कैदीबन्दी अझै फरार छन् ।
फर्किएकाहरुले कैद कटान गर्ने समयमै निकै कम भएकोले फर्किएको बताएका छन् । प्रहरीका अनुसार हिक्मत गिरी,भीमप्रसाद कठायत र डिल्ली कार्की कारागार फर्किसकेका छन् । ९८ जना कैदीबन्दी रहेको जुम्ला कारागारमा ६६ जना मात्रै छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई फिर्ता हुन अपिल गरेको छ । उनीहरुको खोजी कार्य चलिरहेको जनाइएको छ । पटकपटक नेपाली सेनाले उच्छृंखल र आपराधिक गतिविधि नगर्न माइकिङ गरिरहेको छ ।
सेनाको देवीदत्त गण जुम्लाका गणपति सेनानी धीरज थापाका अनुसार नेपाली सेनाको नेतृत्वमा जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायले संयुक्त रूपमा प्रभावकारी तरिकाले पेट्रोलिङ र सुरक्षा व्यवस्था गरिरहेको छ । जेनजीले जुम्लाको नगरपालिका कार्यालयमा तोडफोड गर्नुका साथै कांग्रेस, एमाले, माओवादी केन्द्रको नेमकिपा र राप्रपाको कार्यालयमा तोडफोड गरेका छन् ।

जुम्ला दर्पण । २६ भाद्र २०८२, बिहीबार १७:१२