जुम्ला : जुम्लाका आठवटै स्थानीय तह साक्षर घाेषणा भएका छन् । बिहीबार जिल्लाकाे गुठीचाैर गाउँपालिका साक्षर घाेषणा भएसँगै जिल्लाका सबै स्थानीय तह साक्षर घाेषणा भएका छन् ।
जिल्लाका एक नगरसहित सात गाउँपालिकामध्ये अन्तिममा साक्षर घाेषणा भएकाे गुठीचाैरमा ९५.७३ प्रतिशत नागरिक साक्षर छन् । वडा नम्बर १ देखि ५ सम्मका गरी कुल ९५.७३ प्रतिशत नागरिक साक्षर भएकाे भएकाे जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले साक्षर घाेषणा गरेका हुन् ।
यसअघि बुधबार तिला गाउँपालिका साक्षर घाेषणा भएकाे थियाे ।तिलामा ९५.४ प्रतिशत नागरिक साक्षर रहेकाे जनाइएको छ। गत भदाैमा जिल्लामै सबैभन्दा पहिला हिमा गाउँपालिका साक्षर घाेषणा भएकाे थियाे ।
त्यहाँका कुल ९५.७२ प्रतिशत नागरिक साक्षर छन् । निरक्षरको संख्या ४.२८ प्रतिशत मात्रै छ । हिमाको कुल जनसंख्या १२ हजार आठ सय ४ छ । तीमध्ये १२ हजार २ सय ५६ जना साक्षर छन् । सिञ्जा गाउँपालिकाका ९६.०५ प्रतिशत नागरिक साक्षर रहेका छन् ।
कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। तातोपानी गाउँपालिकाले गरेको सर्भे तथा विभिन्न सूचकका आधारमा ९५.७७ प्रतिशत मानिसहरू साक्षर भएका छन् ।
साक्षरता घोषणामा प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा १५ देखि ६० वर्ष उमेरका सबै पालिकावासीलाई साक्षरताको अवसर प्रदान गरी साक्षरता घोषणा गरिएको छ। उनका अनुसार सबै वडामा गणक पठाई तथ्याङ्क सङ्कलन गरिएको थियो । अब सिंगाे जिल्लालाई साक्षर घाेषणा गरिनेछ ।
डिल्ली कामी । ६ मंसिर २०८१, बिहीबार १९:३१