जुम्ला : जिल्लाको तातोपानी गाउँपालिकामा रासायनिक विषादी प्रयोग गर्न नपाइने भएको छ । मानव स्वास्थ्यका लागिसमेत घातक रहेको रासायनिक मलको लुकिछिपी प्रयोग भइरहेको पाइएपछि गाउँपालिकाले प्रयोगमा प्रतिबन्द लगाएको हो ।
जेठ ५ गते बसेको तातोपानी गाउँपालिकाको गाउँ कार्यपालिका बैठकले धानमा आउने झार मार्न प्रयोग गरिने ब्युटाक्लोर नामक झारनासक विषादीको प्रयोग लुकिछिपी भइरहेको पाइएको भन्दै विषादीको प्रयोगले धानमा नयाँ नयाँ किसिमका तथा किराको प्रकोप बढ्ने जोखिम रहेको भन्दै गाउँपालिकाभर ब्युटाक्लोर विषादी प्रयोगमा प्रतिबन्द लगाउने निर्णय गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतका अनुसार रासायनिक विषादी प्रयोग गर्ने किसानलाई पालिकाबाट उपलब्ध गराइने सेवा सुविधा कटौती गरिने छ ।
विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा असर पारेको भन्दै विषादी प्रयोगमा प्रतिबन्ध नै लगाइएको उनले बताए । रासायनिक विषादी प्रयोग गर्ने किसानको जानकारी गोप्य रुपमा दिने व्यक्तिलाई पुरस्कार दिने निर्णय गरिएको कठायतको भनाइ छ ।
बैठकले अवैध रुपमा विषादी भित्र्याउने एग्रोभेटको निगरानी तथा निरन्तर अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्र पठाउने समेत निर्णय गरेको गाउँपालिकाका अध्यक्ष नन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।
२०६४ सालमा अर्गानिक जिल्ला घोषणा भएको जुम्लामा रासायनिक मलको प्रयोग गर्न पाइदैन । तर जिल्लाका विभिन्न पालिकामा खुलेयाम विषादीको प्रयोग हुने गरेको छ ।

जुम्ला दर्पण । ७ जेष्ठ २०८२, मंगलवार २१:१३