जुम्लाका स्थानीय तहमा बेरुजु : चन्दननाथमा कम,गुठीचौरमा धेरै

जुम्ला ः बुधबार सार्वजनिक महालेखा परिक्षकको ६२ औँ प्रतिवदेनमा जुम्लाका स्थानीय तहको बेरुजु साढे ३० करोड भन्दा बढी देखिएको छ । जिल्लाका उक नगरसहित सात गाउँपालिकाको कूल बेरुजु ३० करोड ५६ लाख ७४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । चन्दननाथ नगरपालिकामा सबैभन्दा कम २.४८ प्रतिशत बेरुजु देखिएको छ ।

नगरपालिकाको कूल ३ करोड १४ लाख ७६ हजार रुपैयाँ बेरुजु छ । दोस्रो नम्बरमा रहेको तातोपानी गाउँपालिकाको २.८१ प्रतिशत बेरुजु छ । तातोपानीमा कूल ३ करोड ८१ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तेस्रो नम्बरमा हिमा गाउँपालिका छ । हिमाको कूल ३ करोड ४६ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

हिमाको बेरुजु ३.८७ प्रतिशत रहेको छ । बेरुजुको धेरै हुने स्थानीय तहको चौथो नम्बरमा कनका सुन्दरी गाउँपालिका रहेको छ । कनका सुन्दरीको ४.०५ प्रतिशत बेरुजु छ । त्यहाँको कूल ३ करोड ९९ लाख ५५ हजार रहेको छ । यस्तै तिला गाउँपालिकाको ३.५७ प्रतिशत बेरुजु देखिएको छ । तिलाको कूल बेरुजु ४ करोड ३३ लाख ३१ हजार रहेको छ ।

तिलापछि धेरै बेरुजु हुने पालिकामा परेको छ,सिंजा गाउँपालिका । सिंजाको ३.५७ प्रतिशत बेरुजु देखिएको छ । कूल बेरुजु रकम ३ करोड ९९ लाख ९१ हजार रुपैयाँ रहेको छ । यस्तै पातारासी गाउँपालिकाको ४.७१ प्रतिशत बेरुजु रहेको छ । पातारासीको कूल बेरुजु रकम ४ करोड २४ लाख १३ हजार रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै बेरुजु गुठीचौर गाउँपालिकामा देखिएको छ । गुठीचौरको जिल्लामै सबैभन्दा धेरै ६.१६ प्रतिशत बेरुजु रहेको छ । गुठीचौरको कूल ४ करोड ३८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।