जुम्ला, तातोपानी – सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत घटना व्यवस्थापनको अर्धवार्षिक समीक्षा कार्यक्रम तातोपानी गाउँपालिकामा सम्पन्न भएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र स्थानिय बाल अधिकार समितिको आयोजनामा भएको कार्यक्रममा, सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म भएका गतिविधिहरूको समिक्षा गरिएको हो।
परियोजनाका संयोजक प्रकाश बहादुर शाहीका अनुसार, कार्यक्रममार्फत वडा बाल कोषको स्थापना र परिचालन गरी १५ जना बालबालिकालाई आवश्यक सहयोग गरिएको छ। साथै, २६ जना बालबालिकालाई घटना व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको र २ जना बालबालिका रिफर गरी सहयाेग गरिएको जानकारी दिइयो।
बाल अधिकार समितिका कार्यप्रगति, जोखिममा रहेका बालबालिकाको पहिचान, तथ्यांक अद्यावधिक, बाल विवाह न्यूनीकरणजस्ता कार्यक्रमबारे पनि छलफल गरिएको थियो।
कार्यक्रममा तातोपानी गाउँपालिकाका वडानम्बर १ देखि ८ सम्मका प्रतिनिधिहरू सहभागी थिए। मूल्यांकनमा वडा नम्बर १ पहिलो, वडा २ दोस्रो र वडा ७ तेस्रो स्थानमा परेका छन्। उत्कृष्ट कार्य प्रदर्शन गरेका वडाहरुलाई कार्यालय सामग्री सहयोग गरिएको छ।
कार्यक्रमको अध्यक्षता बाल अधिकार समिति संयोजक रेवति रावलले गरेकी थिइन्। उपाध्यक्ष रावलले भनिन्, “बाल भेलाबाट आएका सवाललाई यो आवमा प्राथमिकतामा राखी कार्यक्रम बनाइनेछ।”
त्यस्तै, वडा नम्बर ५ का अध्यक्ष छिरिङ महतले बालमैत्री स्थानीय शासन निर्माणमा विशेष जोड दिनुपर्ने धारणा राखे।

जुम्ला दर्पण । ३२ जेष्ठ २०८२, शनिबार १९:३६