सिञ्जा सभ्यता खस संग्राहलय : निर्माणमै ढेड कराेड खर्च,सञ्चालन कहिले ?

जुम्ला :  ६ असार २०७६ मा शिलान्यास गरिएकाे सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आउन सकेकाे छैन । सिञ्जा-२ बिष्टबाडामा निर्माण भइरहेकाे संग्रहालय अझै सञ्चालनमा आउन नसकेकाे हाे ।

निर्माण सुरू भएकाे आधा दशक बितिसक्दासमेत कहिलेदेखि सञ्चालनमा आउने भन्ने अन्याैल कायमै छ । ४ हजार वर्गमीटर क्षेत्रफलमा निर्माण भइरहेका संग्रहालयका लागि निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।

अहिलेसम्म कंक्रिट संरचना मात्रै निर्माण गरिएकाे छ । संग्रहालय निर्माणका लागि लगानी धेरै भएपनि प्रतिफल आउने सम्भावना न्युन रहेकाे स्थानीय बताउँछन् ।

स्थानीय महेन्द्रराज तिवारीले कहिलेसम्म सञ्चालन हुने हाे भन्ने अन्याैल रहेकाे बताए । निर्माण उपभोक्ता समितिका सचिवसमेत रहेका तिवारी संग्रहालयका लागि बनिरहेका संरचनाप्रति सन्तुष्ट छैनन् ।

भन्छन्,`सुरूदेखि नै संग्रहालयका लागि कंक्रिट संरचना नबनाउ भनेकाे हाे । तर हाम्राे भनाइकाे सुनुवाइ भएन ।भवनमात्रै बनाउने काम भएकाे छ । कहिलेदेखि सञ्चालनमा आउने थाहा छैन ।´

सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाहरु झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले संग्रहालय बनाउन सुरू गरिएकाे थियाे । तर,संग्रहालय निर्माणस्थल पुग्दा खस सभ्यता सम्बन्धि कुनैपनि कुराकाे नामाे निसानासमेत भेटिदैन । घेराबार गरिएकाे क्षेत्रभित्र एउटा मात्रै देवल छ ।

बिष्टबाडा गाउँमा विभिन्न स्थानमा १३औँ शताब्दीको चार वटा ऐतिहासिक देवल रहेका छन् । तीमध्ये तीन वटा संग्रहालय स्थल भन्दा बाहिर छन् ।

तीन देवललाई काँडेतारले कैद गरिएकाे छ । साेही गाउँमा विभिन्न स्थान आठवटा सम्पदा रहेको स्थानीयकाे भनाइ छ ।
सरमारी स्वामित्वमा रहेकाे राष्ट्रिय अभिलेखालयमा  जुम्ला जिल्लाका ३३ वटा सम्पदा  सूचीकृत छन् ।

हाल संग्राहलयका लागि निर्माण गरिएका भवन सिमेन्ट,सरिया र जस्ता पाताकाे प्रयाेग गरेर बनाइएकाे छ । त्यहाँ साना ठुलागरि तीन वटा कंक्रिट भवन छन् ।

साेही स्थलमा निर्माण गरिएकाे परम्परागत माटाेकाे घर जीर्ण बनेर भत्किदैँ गएकाे छ । निर्माण स्थल हेर्दा तत्काल सञ्चालन हुने छाँट देखिदैन ।

संग्रहालयका लागि १ कराेड ३४ लाख लगानी,प्रतिफल शून्य

सञ्चालन अन्याैल रहेकाे संग्रहालयका लागि राज्यले भने बेप्रवाह लगानी गरिरहेकाे छ । संघीय,प्रदेश र स्थानीय सरकारले वर्षेनि लाखाै लाख लगानी गरिरहेका छन् ।

२०७६ सालमै नेपाल सरकार उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँको सहयोगमा खस संग्रहालय बनाउने काम सुरु भएको थियाे । कर्णाली प्रदेश सरकार र भु तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा संग्राहलय निर्माण हुन थालेकाे ६ वर्ष बितिसकेकाे छ ।

सिञ्जा गाउँपालिकाले समेत लगानी गरिरहेकाे छ । २०७६ सालमै संघीय सरकारबाट विनियोजन ५० लाखमध्ये २० लाख डीपीआरमा खर्च भएकाे थियाे । ३० लाख रूपैयाँ ४ हजार वर्गमीटर क्षेत्रमा पर्खाल निमर्माणमा खर्च गरिएकाे तिवारी बताउँछन् ।

पछि गाउँपालिकाकाे २५ लाख लगानीमा पुस्तकालय भवन निर्माण गरियाे । उपभोक्ता समितिमार्फत निर्माण गरिएकाे भवन निर्माणमा २८ लाख रूपैयाँ लागेकाे थियाे । त्यतिबेला तीनलाख रूपैयाँ घाटा भएकाे उनले बताए ।

यस्तै,गाउँपालिकाकाेे आठ लाख लगानीमा स्थानीय परम्परागत भवन निर्माण गरिएकाे छ । उक्त भवन दिनप्रतिदिन जीर्ण बन्दै गएकाे छ । भवन भत्किन थालेकाे छ ।

यस्तै ५१ कराेड लगानीमा संग्रहालय भवन निर्माण गरिएकाे छ ।  कर्णाली प्रदेश सरकारकाे १० लाख र सिञ्जा गाउँपालिकाकाे ४१ लाख लागतमा निर्माण गरिएकाे सचिव तिवारीले बताए । उक्त भवनकाे लागि मुल ढाेका भने बाहिरबाट मगाइएकाे छ ।
सिञ्जा सभ्यताको संरक्षण र प्रवर्द्धन हुने अपेक्षा

१४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेका थिए। राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम रहन गएको जनविश्वास छ।

सिंजा क्षेत्रको शिलालेख, ऐतिहासिक स्थल, पाण्डव गुफा, विराटदरबार, कनका सुन्दरी मन्दिर लगायत ढुंगाले कुँदिएका विभिन्न आकृति छन् । तर,संरक्षण नहुँदा सम्पदा बेवारिसे अवस्थामा छन्। तीनको भग्नावशेष मात्रै भेटिन्छन्।

तत्कालीन सिञ्जाबाट जारी ताम्रापत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेका छन् ।
सिञ्जा सभ्यता खस संग्रहालय सिञ्जा गाउँपालिका वडा नम्बर २ बिष्टबाडामा अवस्थित छ । बिष्टबाडामा १२ देखि १५ औँ शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख छन्।
बिष्टबाडाका स्थानीय  गोविन्द तिवारी, तोयानाथ तिवारी, प्रेमनाथ तिवारी र मोतिपुरा तिवारी मिलेर घर नजिकको जिउलो ४ हजार वर्गमिटर जमीन दानमा दिएका छन्।

सिञ्जा सभ्यतासँग जोडेर बन्न लागेको संग्रहालयले आउने पर्यटक र अनुसन्धानकर्ताहरुलाई सिञ्जा सभ्यताको एकसरो अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने लक्ष्य रहेको छ ।

खस भाषा र खस सभ्यताको उद्गम थलो सिञ्जा भएकाले खस संग्रहालय स्थापना गरेर परम्पराको रक्षा गर्न थालिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार २०८१ बैशाख १ गते संग्रहालय सञ्चालनमा ल्याउने याेजना छ ।

अध्यक्ष धिताल भन्छन्,`संग्रहालयका लागि गाउँपालिकाले धेरै लगानी गरेकाे छ । संरचना बनिसकेका छन् ।  त्याे भन्दा अघि अन्य संरचना निर्माण हुनेछन् । स्थानीय परम्परागत वस्तु संकलन गरिनेछ ।बैशाखदेखि सञ्चालनमा ल्याउने याेजना छ । ´नाग्म गमगढी सडक खण्ड अन्तर्गत सिञ्जा हुँदै मुगु रारा ताल जाने बाटो नजिक पर्छ । संग्रहलय पर्यटन आकर्षणको केन्द्र बन्ने देखिन्छ ।