ठ्याक्कै १० वर्ष पुगेछ,२०७२ वैशाख १२ गते महाभूकम्प गएको । ११ः५६ मा गएको वि.स.१९९० पछिकै सबैभन्दा ठूलो भूकम्प थियो । भूकम्पमा परी ९ हजार बढीले ज्यान गुमाए । बा,आमाले छोराछोरी गुमाए,छोराछोरीले बा,आमा ।श्रीमतीसँग छुट्यो श्रीमानको साथ,श्रीमानसँग श्रीमतीको । कैयोको सम्बन्ध टुट्यो । प्रीयजनसँग साथ छुट्यो । भत्किए सम्बधले गाँसेका पर्खालहरु ।

सम्बन्धको पर्खालले बाँधेका सम्बन्धका सीमा,आभास र डोरीहरु । सम्बन्धको अर्थतन्त्रसमेत नराम्रोसँग ओरालो लाग्यो,माथि उकास्न धौधौ हुनेगरी । मलाई अहिलेपनि याद छ, त्यो दिन एक हल गोरु बाँधेर खेतबारी जोतिरहेको थिए, मावलीले आमालाई सम्झना स्वरुप दिएको पाखामा । आमा र म मात्रै थियौ ।
त्यही दिन पहिलो थियो,मैले जिन्दगीमा पहिलोपटक औपचारिक रुपमा हलो जोतेको । सकी नसकी मैले हलो जोतिरहेको थिए, पाखा जोतेर सकिन आधा बाँकी थियो । एकातिर वैशाख महिनाको धुपौरे गर्मी । अर्कातिर पहिलोपटक हलो जोतेको मलाई निकै गाह्रो महशुस भइरहेको थियो, ठ्याक्कै ११ः५६ मा मलाई रिगांटा (चक्कर) लाग्थ्यो । आँखा बन्द गए । पूरै जमीन हल्लिरहेको थियो । वरीपरिको ठाउँ राम्ररी देख्नै सकिन । आमा भने मज्जाले खनिरहेकी थिइन् । मैले आमालाई सोधे,आमई मलाई धेरै रिंगाटा आयो । केहीपनि देख्दिनत के भयो ?

स्व.दीपबहादुर कामी तस्बिर : शुभाकर विश्वकर्मा
आमाले लामो स्वास फेर्दै भनिन्, ‘कहिले यस्तो काम नगरेको गाह्रो भयो होला भाउअ ।’ मलाई चाँही भित्राभित्रै कमजोर भइएछ भन्ने लागेको थियो । जे होस्, दिनभर काम गरियो । त्यस दिन हामी मामाको घर जयतपुरमै बस्यौ । घर पुगेपछि साँझ मात्रै थाहा पाइयो, दिउँसो त भूकम्प पो गएको रहेछ । साँझ सात बजेको रेडियो नेपालको समाचारमा गोरखाको वारपाक केन्द्रविन्दू भएर भूकम्प गएको र हजारौको ज्यान भन्ने ।
देशमा महाभूकम्प गएको पाँच महिना २२ दिनपछि वि.स.२०७१ असोज १६ गते मेरो व्यक्तिगत जीवनमा पहिरो गयो । त्यो यस्तो पहिरो थियो, जसले हाम्रो घरको प्रमुख खम्बा बगाइदियो । आफ्नी जीवनसंगनीको माया मारेर,आफ्ना चल्लाहरुलाई बेवारिसे छोडेर बाले अन्तिम स्वास फेरे । बाको शेषपछि आमाको सिउँदो पुछियो,हामी चार भाई बहिनी टुहुरा भयौँ । त्यो कालो दिन सम्झिदा मात्रैपनि अहिलेपनि भक्कानौ फुट्छ,नौनाडी गल्छन्,सारा संसार नै अध्यारो हुन्छ । मैले ‘बा’ शब्दलाई सदाको लागि गुमाएको दुःखद् क्षण जो थियो । मेरा बा मेरा लागि बा मात्रै थिएनन्,जन्मदाता थिए,गुरु थिए मेरा,जसले मलाई ‘क’ लेख्न सिकाए,खरिपाटीमा । मार्गदशक थिए,जसले सधै असल बाटो हिड्न सिकाए ।

नेपाली समाजमा एउटा उखान निकै प्रचलित छ,‘बाह्र वर्षपछि खोलो फर्किन्छ ।’ यस्तो संयोग जुरेको छ,मेरा बाको मृत्युको कहालीलाग्दो सत्यसँग । २०७१ को चैतमा मैले एलएलसी परिक्षा दिएको थिए । एलएलसीपछि तीन महिना विदा थियो । विदाको समय सपदुयोग गर्न स्कुले साथीहरुसँग मिलेर जुम्ला सदरमुकाममा काम गर्न गए । बाकै स्वीकृतिमा काम गर्न गएको थिए । एक महिना काम गरे, दिनको ५ सय रुपैयाँ पारिश्रमिक थियो । एक महिनामा १५ हजार रुपैयाँ कमाए । खाना र नास्ता खर्च छुट्याएर ठेकदार दाईले १२ हजार रुपैयाँ दिएका थिए । त्यो मेरो जिन्दगीको पहिलो कमाई थियो ।
भारतमा राेजगारीमा गएकाे बेला साथीहरूसँग दाँयाबाट पहिलाेमा दीपबहादुर कामी
आफूलाई ज्याकेट किने, बालाई टोपी किनिदिए ।आमालाई चोलो र भाइ बहिनीलाई एकजोर कपडा किनेर लगिदिएको थिए, अनि एक कट्टी चामलको बोरासमेत लिएको थिए । त्यस दिन एक महिनापछि घर गएपछि बा आमा एकदमै खुसी भएका थिए । म पनि आफूले दुःख गरेर कमाएको पैसा बा आमालाई थोरै भएपनि दिन पाउँदा मख्खै थिए । बाले त्यसदिन मलाई भनेका थिए,‘मेरो जेठा पनि कमाउने भएछ । अब मैले काम गर्न नपर्नेभयो ।’
केही दिन घरमा विश्राम गरेर जीवनमै पहिलोपटक सबैभन्दा लामो यात्रा गय भयो । घरमा भन्दा बा र आमाले मानेका थिएनन्, मैले जिद्धी गरेपछि नाईपनि भनेनन् । म गाउँका काका र दाईहरुसँग जीवनबुटी ‐यार्सागुम्बा) संकलनका लागि मुगुका पाटनमा जाने निधो भयो । हाम्रो १२ जनाको समूह थियो । समूहमा सबैभन्दा कान्छो म नै थिए । चार दिनको पैदल यात्रागय गरेर पाटनसम्म पुगियो । तर, एक महिना बस्ने भनेर गएका हाम्रो यात्रा त्यहाँ पुगेको दुई दिनमै फर्किनु पर्ने अवस्था आयो । हामीले त्यहाँ पुगेर दुई दिन मात्रै यार्सा टिपेका थियौ । मैले चार वटा संकलन गरेको थिए । हाम्रो समूहमा सधैभन्दा धेरै यार्सा टिप्नेमा म दोस्रो नम्बरमा थिए । सबै भन्दा धेरै पाउनेले ६ वटा मात्रै टिपेका थिए । दुई दिन यात्रा टिप्न गएपछि तेस्रो दिन छुट्टी थियो ।

हाम्रो टोली समूहमा कोही तास खेलिरहेका थिए,कोही कपडा धोइरहेका थिए, म भने तास खेलेको हेरेरै बसेको थिए । एक्कासी विहान ११ बजेतिर एक हुल मानिसहरु हाम्रो टेन्ट भएतिर आए । उनीहरु हामीले चिनेकै रहेछन् । छिमेकी गाउँ,जर्मी गाउँका । उनीहरुको समूहमा आएका एकजना बिरामी परेर मरेछन् । त्यहाँ गाँडेर आएका रहेछन् । त्यो कुरा सुन्दा त मेरो स्वासै बन्द गएको जस्तो महशुस भएको थियो । त्यस्तो कुरा सुनेपछि हामी सबै मुखामुख गर्न थाल्यौ । हामीसँगै गएका तीर्थ दाईले म तिर हेरेर के गर्ने भनेर सोधे ? सबैभन्दा कान्छो तँ छस् भन,तैले बस्ने भन्छस् भने बस्छौ, नाई भनिस् भने हामी पनि बस्दैनौँ । मैले फ्वाट्टै भने, ‘जाऔँ’ ।
त्यसको केहीदिनमा हामी फर्कियौ । चौथो दिनमा घर आइपुग्यौ । त्यो जेठको महिना थियो । हामी घर आउँदा रोपाइ चलिरहेको थियो । हाम्रो घरमा भने रोपाइ जेठ २१ गते चल्छ । हामी पुगेको भोलीपल्ट रोपाइ भयो । धेरै टाढाबाट बाँचेर छोरो आयो भनेर बाले मलाई सिन्दुर लगाइदिएका थिए ।
त्यसको ठिक महिनापछि असार दोस्रो सातातिरको कुरा हो, त्यतिबेला म गाविस स्तरीय बाल क्लबको अध्यक्ष थिए । त्यसदिन क्लबका सचिव मुन बहादुर विष्टको घर धौलापानीमा कार्यक्रमको विषयमा कुरा हुँदै थियो । त्यतिबेला मेरो मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । त्यो गर्ने अरु कोही नभएर मेरा बा रहेछन् । सुरुमै बाले छोरा म हुँ भने,मैले स्वर चिनिहाले । बाले फोनमा भने,‘छोरा म सुर्खेत छु । इन्डिया जान लागेको । चिन्ता नगर । मेरो एसएलसीको टिजल्ट आयो भने राम्रोसँग बढ्नु । घरको राम्रो ख्याल गर्नु । म उतैबाट पैसा पठाउँला । चिन्ता नगरेस्,घरमा आमा र भाइ बहिनीहरुको राम्रो हेरचाह गर्नु ।’
म केहीपनि बोल्दै सकिन । आँखाबाट बर्बरी आँशु मात्रै आयो । गला अवरुद्ध भयो । त्यसरी बाले कहिल्यै घर छोडेका थिएनन्,म जान्ने हुँदादेखि नै । आमा भन्छिन्,‘म आमाको पेट हुँदा भारत गएका रे । म जन्मेपछि घर आएपछि कहिल्यै गएका थिएनन् । जन्मेको १६ वर्षपछि भारत गएका हुन् ।’ अन्तत ः १६ वर्षपछिको कालापहाड यात्रा बाको मृत्युको कारण बन्यो ।
त्यहाँ गएको दुई महिनापछि बा बिरामी परेछन् । औषधि उपचार गरेपनि सन्चो भएनछ । एकदिन भारतमा बा बिरामी भएको खबर सुने । फोनमा कुराकानी भयो । मैले बालाई छिटो घर आउन आग्रह गरे । बरु म लिन आउँछु भने । त्यतिबेला बालाई भनेको थिए,‘मरेपछि हाम्रै काखमा मरौला । अर्काको देशमा पानी दिने मान्छेपनि कोही छैन । म लिन आउँछु बरु ।’ बाले मलिन् स्वरमा मलाई लिन आउनु पर्दैन । धेरै डर नमान । म घर हाइहाल्छु ।
त्यसको दुई हप्तामा बा घर आए । तर जाँदा जस्तो थिएनन् । पूरै थालेका र गलेको अवस्थामा थिए बा । घर आएपछि भएभरीका अस्पताल धायौ । धामी झांक्री सबै ठाउँ धायौ । तर बालाई केही गरिपनि बचाउन सकिएन । असोज १६ गतेको त्यो दिन, त्यतिबेला म सदरमुकाममा बस्थे । कक्षा ११ मा पढिरहेको थिए । सँगै जागिरको लागि पनि धाइरहेको थिए । जुम्लाकै पुरानो रेडियो,रेडियो कर्णालीमा समाचारदाता खोजेको थियो । आवेदन दिएको थिए । सुरुमा २५ जना भन्दा बढीले आवेदन दिएका रहेछन् ।
मसँगै चार जना साथीहरु विभिन्न चरण पार गरेर अन्तिम चरणमा पुगेका थियौ । अन्तिम छनोट बाँकी थियो । त्यस दिन घरबाट फोन आयो । बालाई साह्रै अप्ठ्यारो भएको कुरा आमाले सुनाइन्, तुरुन्तै घर आउन भनिन् । म घर पुग्दा बा अर्धचेत अवस्थामा थिए । घर जान बित्तिकै बालाई समाते । चिन्नै सकेनन् । बा पानी खान्छौ भनेर एक गिलास् पानी मुखमा राखे । एक घुट्खा पानी पिए । त्यसपछि मेरो अंगालोमै बाले अन्तिम स्वास फेरे ।
बाको नाममा पुरस्कार : श्रमजीवीलाई श्रमजीवीको प्रोत्साहन
बाको मृत्यु र मेरो पत्रकारिता प्रवेश सँगसँगै भयो । पत्रकारिता मेरो रहर थिएन । बाध्यता भइदियो । मलाई शिक्षक बनाउने बाको धोको थियो । आफूले पढ्न नपाएको अभाव मबाट पूर्ति गर्ने धोको थियो,बाको । तर,उनको इच्छा पूरा हुन पाएन । आफ्नो सपना पूरा नहुँदै उनी अस्ताए । उनको सपना पूरा गर्नु मेरो कर्तव्य हुन्थ्यो । तर,पत्रकारितामा जोडिए । जुन मेरो रहर नभएर बाध्यता थियो । पत्रकारितामा लागेकै एक दशक बित्न लागेछ । पत्रकारिताका दौरान के कस्ता अभाव र ठक्कर खाए । त्यसको छुट्टै कारुणिम कथा छ । म भने पत्रकारिता दौरान मुगुपनि पुगे केही समय । पछि पश्चिम तराईको बाँकेमा आउनुपर्ने भयो ।

पेसा गर्ने क्रममा जन्मथलो छोडेपनि बा र जन्मथलोलाई कहाँ भुल्न सकिन्थ्यो र ? बाको नाममा केही काम गरौ भनेर केही वर्षदेखि सोचिरहेको थिए । अन्तत : प्रतिष्ठान खोलेर श्रमजीवी पत्रकारलाई सम्मानका साथै सामाजिक क्षेत्रमा काम गर्ने निधोमा पुगे । त्यसैको उपज हो,‘स्व.दीपबहादुर स्मृति प्रतिष्ठान’ । यसको प्रमुख उद्देश्य मध्येको एक हो, मोफसलमा पत्रकारिता गर्दै आएका श्रमजीवी पत्रकारहरुलाई हौसला स्वरुप नगद्सहित सम्मान गर्ने । हरेक वर्ष असोज १६ गतेका दिन जुम्लामा पत्रकारलाई पुरस्कृत गर्दै आएको छ, प्रतिष्ठानले ।
पहिलो पुरस्कार वितरण गर्दा प्रतिष्ठान दर्ता प्रक्रियामा थियो । २०७९ असोज १० गते पहिलोपटक प्रतिष्ठानले सागर परियारलाई नगद्सहित पुरस्कृत गरेको हो । प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय जुम्लामा २०८० ६ महिना २३ गते दर्ता भएको हो ।

यो पुरस्कार जुम्ला जिल्लामात्रै होइन कर्णालीमा व्यक्तिगत रुपमा वितरण सुरु भएको ठूलो धनराशिको पहिलो पुरस्कार हो । अहिले प्रतिष्ठानले जुम्ला र बाँकेमा हरेक वर्ष दुई जनालाई प्रदान गर्दै आएको छ । जुम्लामा अहिलेसम्म यस पुरस्कारबाट पत्रकारहरु विजय रावत र मानदत्त रावत र बाँकेबाट अनिता विश्वकर्मा र कल्पना शाही सम्मानित भएका छन् । बाँकेबाट प्रदान गरिने पुरस्कारको राशि ५ हजार रहेको छ । प्रतिष्ठानले आगामी दिनमा यसलाई निरन्तरता दिदैँ जानेछ । यो केवल पुरस्कार मात्रै होइन,स्व. बाको सम्झना र उनीप्रतिको सम्मान हो । एउटा श्रमजीवीलाई अर्काे श्रमजीवीको प्रोत्साहन र हौसला हो ।
लेखक : स्वर्गीय दीपबहादुर स्मृति प्रतिष्ठानका संस्थापक,अध्यक्ष हुन् ।

शुभाकर विश्वकर्मा । १६ असार २०८२, सोमबार २२:३४