कविता : प्रचण्डको रेलमा छुटेका प्रभाकर

रेशम अनुराग (हाल युएई)

प्रचण्डको रेल
जति हुट्टी बजाए पनि
देशको पटरी
उही पुरानो जुँगाजस्तै कडा भएर टसक्क अड्किएको छ।

रेलभित्रका भाषण
इतिहासजस्तै भारी,
तर परिणाम
जनताको भोकजस्तै हल्का—
हावामा उड्ने,
धुवाँजस्तै हराउने।

प्रभाकर स्टेसनमा उभिएर
सत्यको टिकट देखाउँछन्,
तर यो रेल
इमानदारलाई कहिल्यै चढाउँदैन—
किनकि
सत्ता बगाउने डब्बामा
सत्य सबैभन्दा ‘खतरनाक सामान’ मानिन्छ।

प्रचण्ड खिड्कीबाट
क्रान्ति झार्दै हल्लाउँछन्,
मानौँ देश
तीन शब्दले चल्ने मेसिन हो—
“परिवर्तन, समृद्धि, शान्ति।”
तर
देशको मान्छे भने
तीन वटै शब्द
हजारौँ पटक
ठगिएर थकित छन्।

रेल त दौडिरहेको छ,
तर गन्तव्य?
गन्तव्यचाहिँ
प्रत्येक वर्ष जस्तै
नक्सामै अड्किएको सपनाको थुप्रो।

प्रभाकर चुप लाग्छन्,
तर चुपिमा आगो छ—
उनी भन्छन्,
“देशलाई क्रान्ति होइन,
इमान चाहिन्छ।
अनि त्यो
प्रचण्डको रेलभित्र
लामो समयदेखि हराइरहेको छ।”

अन्त्यमा—
रेल बिस्तारै टाढिँदै जान्छ,
धुवाँ, हुट्टी र प्रमादसँगै।
स्टेसनमा उभिएका प्रभाकर
देशको घाउ देखेर मुस्कुराइदिन्छन्