जयन्ता सुधा (जाजरकोट)
जाजरकोट – जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. १२ औपचारिक रूपमा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ। वडा नं. १२ जाजरकोट जिल्लाकै आठौँ तथा छेडागाड नगरपालिकाको चौथो बालमैत्री वडा बनेको हो।
२०८२ साल कार्तिक २९ गते जनकल्याण माध्यमिक विद्यालयमा भव्य कार्यक्रमका बीच उक्त घोषणा सम्पन्न गरिएको हो।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन निर्देशिका २०७८, घोषणा कार्यविधि २०७९ तथा छेडागाड नगरपालिकाको कार्यविधि २०७७ अनुसार बालमैत्री स्थानीय शासनका ५१ सूचकहरू कार्यान्वयन गर्दै दिगोपन सुनिश्चिततासहित सात प्रतिबद्धता सार्वजनिक गरिएको छ।
“खुशी राखौँ बालबालिकाको मुहार, बालमैत्री छेडागाड समृद्धिको आधार” भन्ने मूल नाराका साथ वडा बालमैत्री घोषणा गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर खत्रीको सभापतित्व रहेको थियो भने जिल्ला समन्वय समितिका सदस्य खडकबहादुर बिसी प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिमा नगर उपप्रमुख चन्द्रबहादुर थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकाय तथा वडा नं. १३ का अध्यक्ष मोतिलाल खत्री सहभागी थिए ।
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यक्रम निर्देशक टेकबहादुर सुनार, कार्यक्रम व्यवस्थापक लोकमणी गिरी, कार्यक्रम संयोजक कुबेर केसी, मनोसामाजिक परामर्शकर्ता ज्ञानु थापासहित संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडाका आठ बालक्लब, वडा बाल सञ्जाल, नागरिक समाज, १३ विद्यालय, ४ स्वास्थ्य संस्था, धार्मिक अगुवा समूह, महिला तथा आमा समूह, बाल तथा युवा अभियान्ता, प्रहरी चौकी, जेष्ठ नागरिक, सामुदायिक वन उपभोक्ता समूह, राजनीतिक दल, नगरपालिका शाखा र स्थानीयवासीहरूको उल्लेख्य सहभागिता थियो।
बालविवाह न्यूनीकरण तथा बालमैत्री वडा निर्माणको पूर्वतयारीस्वरूप अभिनय प्रदर्शन गरिनुका साथै बिहान स्थानीय बाजागाजा र झाँकी–मयुर नृत्यद्वारा अतिथिहरूको स्वागत गरिएको थियो।
स्वागत मन्तव्य राख्दै वडा सदस्य गणेशबहादुर अधिकारीले वडा नं. १२ ले ९५ प्रतिशतभन्दा बढी बालमैत्री सूचक पूरा गरेपछि घोषणा सम्भव भएको जानकारी दिनुभयो।
घोषणापत्र सार्वजनिकपछि सात प्रतिबद्धतामा हस्ताक्षर गरियो। त्यस अवसरमा जिल्ला समन्वय समिति, नगरपालिका र वडाबीच परस्पर कदरपत्र आदान–प्रदान गरिएको थियो।
बालक्लब तथा बाल सञ्जालको तर्फबाट बाल अभियान्ता प्रमिला आचार्यले मन्तव्य राख्दै बालअधिकार संरक्षणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै बालविवाह नगर्न र नगराउन आग्रह गर्नुभयो।
पाँचतारा युवा संरक्षक मञ्चका कार्यक्रम व्यवस्थापक लोकमणी गिरीले बालमैत्री घोषणा औपचारिकतामात्र नभई दिगो विकास र बालअधिकार सुनिश्चितताको अभियान भएको उल्लेख गर्दै सम्पूर्ण पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको बताउनुभयो।
विद्यालय प्रतिनिधिका रूपमा नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशकुमार बस्नेतले विद्यालयभित्र पनि बालमैत्री वातावरण कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जिल्ला समन्वय समितिका सदस्य खडकबहादुर बिसीले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको अन्त्यमा सहयोगी सबैलाई सम्मानपत्र प्रदान गर्दै वडा अध्यक्ष प्रेमबहादुर खत्रीले कार्यक्रम समापन गर्नुभयो।
पछिल्लो समय बालअधिकार संरक्षण र संवर्द्धनमा छेडागाड नगरपालिका सक्रिय रूपमा अगाडि बढिरहेको स्थानीयले बताएका छन्।

जुम्ला दर्पण । ३० मंसिर २०८२, सोमबार १९:००