तातोपानी ६,हियाखोलाको कालिका आ.वि मा WFP दिवा खाजा अनुगमन कार्यक्रम सम्पन्न

प्रकाश वि क

जुम्ला — तातोपानी गाउँपालिका जुम्लाको उत्कृष्ट विद्यालय मानिने कालिका आधारभूत विद्यालय, हियाखोलाले आफ्नो अर्को महत्वपूर्ण सफलता दर्ज गरेको छ। यो विद्यालयमा बेलाबेला मन्त्री, सांसद तथा तातोपानी गाउँपालिकाका अध्यक्षसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूको स्वागत तथा सम्मान गर्ने अवसर पाउँदै आएको भए पनि, यसपटक भने विशेष रूपमा विश्व खाद्य कार्यक्रम (WFP) बाट संचालित दिवा खाजा कार्यक्रम अन्तर्गत अनुगमन तथा अन्तरक्रिया सम्पन्न भएको छ।

सोमबार सम्पन्न उक्त कार्यक्रममा WFP र RIRAS परियोजनालाई आर्थिक सहयोग प्रदान गर्ने नेर्वे सरकारका राजदूत तथा नेपाल सरकार कृषि मन्त्रालयका उच्च अधिकारीहरूको टोली पुगेको थियो। उच्चस्तरीय अतिथिहरूको स्वागत–सम्मान गर्न पाउनु विद्यालय परिवारका लागि गर्वको विषय भएको विद्यालयले जानकारी दिएको छ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार पालिकाको अर्गानिक दिवा खाजा कार्यक्रमले विद्यालय र अभिभावक दुवैमा सकारात्मक प्रभाव पारेको छ। पालिकाको निर्देशन अनुसार नमूना काम गर्दै शैक्षिक गुणस्तर र भौतिक संरचनामा विद्यालयले गरेको फड्कोलाई अध्यक्ष चौलागाईंले प्रशंसा गरेका छन्।

त्यसैगरी तातोपानी–६ का वडा अध्यक्ष बिशाल खड्काले पहिला दुर्गम मानिने हियाखोला समुदाय अहिले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेकोमा गर्व व्यक्त गर्दै विद्यालयले निरन्तर उत्कृष्टता कायम राखेर जिल्लाकै नमुना बन्ने अपेक्षा व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले विद्यालयलाई जिल्लाकै नमुना बनाउने लक्ष्यसहित डिजिटल शिक्षण प्रणाली लागू गर्नुपर्ने आवश्यकतामा जोड दिए। विद्यालयको विगत र वर्तमान अवस्थाको मूल्यांकन समुदाय तथा स्थानीय तहले गर्ने समय आएको उनले बताए। साथै अर्गानिक दिवा खाजा कार्यविधिअनुसार नमूना भान्सा घर, पोलियो हाउस र खानेपानी व्यवस्थापनमा सहयोग पुर्याएकोमा उनले तातोपानी गाउँपालिका, WFP तथा RIRAS परियोजनाप्रति आभार व्यक्त गरे।

कार्यक्रमका क्रममा कालिका आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक रमेश न्यौपानेले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थी उपस्थितिमा उल्लेखनीय सुधार आएको बताए। विद्यालयमा आगन्तुकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम सफल भएको भन्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरे।