तातोपानीमा उपभोक्ता समितिका पदाधिकारीलाई क्षमता अभिवृद्धि तथा आयोजना हस्तान्तरण कार्यक्रम 

जुम्ला, तातोपानी —
तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित योजना उपभोक्ता समितिका पदाधिकारीहरूलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम तथा आयोजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको योजना शाखाको आयोजनामा आयोजित सो कार्यक्रममा गाउँपालिका भित्रका वडा नं.४,५ र ६ मा सञ्चालित योजनाका उपभोक्ता समितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यश अगाडि वडा नं. १,२,३ सम्पन्न भइ सकेको हो। भने वडा नं. ७ र ८ मा भने अब छिटै संचालन हुने छ ।

कार्यक्रमको उद्देश्य योजनाहरू पारदर्शी तरिकाले सम्पन्न गर्न, उपभोक्ताहरूलाई योजनाको स्वामित्व दिलाउन र आगामी दिनमा कार्यान्वयनमा आउने सम्भावित समस्याहरू न्यूनीकरण गर्नु रहेको योजना शाखा प्रमुख ओमबहादुर चन्दले बताए। उनका अनुसार, “योजनाहरूको स्वमूल्याङ्कन गरिसकेर भुक्तानी गरिएको भए पनि कतिपय स्थानमा अझै समस्याहरू देखिएका छन्। यस्ता समस्याहरू भविष्यमा नआउन् भन्ने हेतुले तालिम तथा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको हो।”

गाउँपालिकाका अनुसार, ३ लाख रुपैयाँभन्दा माथिका करिब १२१ योजना उपभोक्ता समितिमार्फत हस्तान्तरण गरिएका छन्। उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने यस्ता योजनाहरूमा पारदर्शिता, जवाफदेहिता र दीर्घकालीन उपयोग सुनिश्चित गर्न व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले स्थानीय तहको बजेट जनमुखी र प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिका निरन्तर यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिइन्। उनले उपभोक्ता समितिहरूले सामना गर्दै आएका समस्याहरू पहिचान गरेर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमको क्रममा उपभोक्ता समितिका पदाधिकारीहरूले योजना कार्यान्वयनपछि भुक्तानीको प्रक्रियामा प्राविधिकहरूले असहज बनाएको गुनासोसमेत राखेका थिए। उक्त गुनासोप्रति जवाफ दिँदै प्राविधिक कृष्णहरि अधिकारीले प्राविधिकहरूले दीर्घकालीन प्रयोग र दिगो विकास सुनिश्चित गर्न आवश्यक मापदण्ड अनुसार काम गर्ने प्रयास गरेको बताए। साथै, यदि कुनै प्राविधिकले नियतबस समस्या सिर्जना गरेका हुन् भने सम्बन्धित निकायमा उजुरी दिनुपर्ने सुझावसमेत दिए।

कार्यक्रमले उपभोक्ता समिति र प्राविधिक पक्षबीच समन्वय तथा विश्वासको वातावरण निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ। तातोपानी गाउँपालिकाले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ व्यापक रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।