जुम्लामा नेकपाबाटै जितेकी उपाध्यक्षका श्रीमान नै ‘स्वतन्त्र उम्मेदवार’

उम्मेदवार रावल भन्छन्, ‘भण्डारी सर्वमान्य होइनन्,गुटमा रमाउने नेता हुन् ।’ उनको नेतृत्वमा जुम्लाले निकास पाउँदैन । उनको विकल्पमा म उठेको छु ।

जुम्ला : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि जुम्लामा दशजना चुनावी मैदानमा छन् । गत निर्वाचन जितेका राप्रपाका ज्ञानेन्द्र शाहीसहित १० जना चुनावी मैदानमा होमिएका छन् । रास्वपाबाट उम्मेदवार बनेकी विनिता कठायतबाहेक सबै पुरुष उम्मेदवार छन् । जुम्लामा नेपाली काँग्रेस,नेकपा एमाले,नेमकिपासहितका पुराना र प्रगतीशील लोकतान्त्रिक पार्टी र नेपाली जनता पार्टी जस्ता नयाँ दलका उम्मेदवारपनि चुनावी मैदानमा छन् । तीमध्ये एकमात्र स्वतन्त्र उम्मेदवार छन्, भक्तबहादुर रावल । उनी नेपाली कम्युनिष्ट पार्टीबाट जितेकी तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलका श्रीमान हुन् । उम्मेदवार रावल तातोपानी ३ का स्थानीय बासिन्दा हुन् ।

स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावत श्रीमती रेवती रावलसँग

पूर्व माओवादी लडाकूसमेत रहेका रावल नेकपाबाट उम्मेदवार बनेका नरेश भण्डारीको विकल्पमा उम्मेदवार बनेको बताउँछन् । उनका अनुसार जुम्ला माओवादीमा गुटगत राजनीति हाबी छ । विगतमा चुनावमा घात प्रतिघातका श्रृंखला रहेको र त्यसबाट दिक्क भएर पार्टी छोडेको उनको भनाइ छ । ‘हिजो आफ्नै पार्टीका उम्मेदवार कसले हराए । कसले त्यसको नेतृत्व गरे । सबैले चिनेका छन्,’ उनी भन्छन् ।

पार्टीमा तीव्र गुटगत राजनीति दाबी भएपछि आफूले पार्टी छोडेको उनले बताए । नेकपाबाट उम्मेदवार भएका नरेश भण्डारी आफ्नो गुरु भएपनि उहाँको नेतृत्व र उहाँ आवद्ध पार्टीबाट जुम्लाले निकास नपाउने निचोडसहित आफू चुनावी मैदानमा होमिएको उनले बताए ।

तपाईको श्रीमती नेकपाबाट निर्वाचित उपाध्यक्ष हुनुहुन्छ नी ? भन्ने प्रश्नमा उम्मेदवार रावल भन्छन्,‘उहाँलाई पार्टीले टिकट दिनुभन्दा पहिले नै मैले पार्टी छोडीसकेको थिए ।’उम्मेदवार रावलले कृषिमय,बत्तीमय र बाटोमय जुम्ला बनाउनको लागि उम्मेदवारी दिएको बताए । जुम्लालाई गरिबीमुक्त र आत्मनिर्भर बनाउने आफ्नो चुनावी एजेण्डा रहेको उनले बताएका छन् । रावल जनयुद्धमा सामेल भएका थिए,पछि विप्लब नेतृत्वमा माओवादीमा सामेल भए । कर्णाली मिसन डटकमसँगको कुराकानीमा उनले भनेका छन्,‘ राजनीतिक हिसाबमा श्रीमती र म भिन्न छौँ । उहाँले आफ्नो तरिकामा राजनीतिक गरिरहनु भएको छ । मैले आफ्नो हिसाबमा राजनीति गरिरहेको छु ।’

जुम्ला दर्पणसँगको कुरानकानीमा उपाध्यक्ष रावलले व्यक्तिको सम्बन्ध एक भएपछि विचार फरक हुन सक्ने बताइन् । आफूहरु फरक विचार बोक्न स्वतन्त्र भएको उनको भनाइ थियो । उनीहरु माओवादी जनयुद्धमा भूमिगत भएका थिए । पार्टीकै कामको शिलशिलामा भेट भएको र जनवादी विवाह भएको उपाध्यक्ष रावलको भनाइ छ ।