जुम्ला : कर्णाली प्रदेश राजधानी सुर्खेतमा जुम्लाको तिला गाउँपालिकाले घुम्ती सेवा सञ्चालनमा ल्याएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकको लागि सुर्खेतमा शिविर सञ्चालन गरिएको हो । भत्ता खाने लाभग्राहीको नाम गाउँपालिकामा रहेपनि बाहिरी जिल्लामा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरेर सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेतसहित लुम्बिनी प्रदेशको बाँकेका,नेपालगन्ज,कोहलपुर र बर्दियामा बस्ने तिलाका नागरिकका लागि सामाजिक सुरक्षा भत्ता नविकरणको घुम्ती शिविर सञ्चालन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।
गाउँपालिकाबाट बसाइँसराइँ नलिएका तिलाका सामाजिक सुरक्षा भत्ता खाने नागरिकको सहजका लागि सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरिएको हो । उनका अनुसार पालिकाबाट पञ्जिकरण शाखाका प्रमुख बखत हमालको नेतृत्वमा थप दुई जना कर्मचारी परिचालन गरिएको छ ।गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले गाउँपालिका देखी टाढा बस्ने सेवाग्राहीलाई सहजका लागि पालिकाबाटै निर्णय गरेर सुर्खेतमा कर्मचारी खटाई सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्ती शिविर सञ्चालन गरिएको गरिएको बताइन् ।
सरकारले अहिले भत्ता खाने लाभग्राहीको बायोमेट्रिक अनिवार्य गरेको छ । गाउँपालिकामा उपस्थित हुन नसक्ने अशक्त,वृद्धवृाद्धाहरुका लागि सुर्खेतमा शिविर राखिएको उनले बताइन् । तिला गाउँपालिका पञ्जिकरण शाखाका प्रमुख बखत हमालका अनुसार सुर्खेतमा मात्रै पहिलो दिनमा करिब २१ जनाको बायोमेट्रिक गरिएको छ । कोहलपुर,नेपालगन्ज र बर्दियामा समेत कर्मचारी पुगेका छन् । गाउँपालिका करिब ३ हजार ३६९ जना सामाजिक सुरक्षा भत्ता लिने गरेको तिला गाउँपालिकाको पञ्जिकरण शाखाले जनाएको छ ।

जुम्ला दर्पण । १२ भाद्र २०८२, बिहीबार २१:५७