जुम्ला : जुम्लामा तीन वर्षमा सवारी दुर्घटनाका कारण २८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०८९ देखि २०८०/०८१ सम्म सवारी दुर्घटनामा परी २८ जनाले ज्यान गुमाएका हुन् ।
जिल्ला ट्राफिक कार्यालय जुम्लाका अनुसार तीन वर्षकाे अवधिमा ९१ वटा सवारी दुर्घटना भएका थिए । दुघर्टनामा ज्यान गुमाउनेमा पुरूषकाे संख्या बढी छ । मृत्यु हुनेमा २४ पुरूष,३ जना महिला र १ जना बालक रहेका छन् ।
कायर्यालयकाे त्रिवर्षीय सवारी दुर्घटनाकाे तथ्यांकअनुसार २०७८/०८९ मा ३१ वटा २००८९/०८० मा २५ र २०८०/०८१ मा सबैभन्दा धेरै ३५ वटा सवारी दुर्घटना भएका थिए । यस्तै तीन वर्षमा ६ वटा ट्रक,४ वटा बस,१६ वटा जीप/कार र १५ वटा ट्याक्टर दुर्घटनामा परेका छन् ।
यसैगरी,सबैभन्दा धेरै ३१ वटा माेटरसाइकल र १८ वटा अटाे दुर्घटनामा परेका हुन् । याे अवधिमा ४३ जना गम्भीर घाइते र १२७ जना सामान्य घाइते भएकाे तथ्यांकमा उल्लेख छ । सवारी दुर्घटनामै परेर दुई वटा चाैपायाका समेत मृत्युु भएकाे छ ।
जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक केशवसिंह धामीले जुम्लामा तीव्र गतिका कारण दुर्घटना हुने गरेकाे बताए ।
उनका अनुसार दुर्घटना न्युनिकरणका लागि कार्यालयले सचेतनामुलक कायर्यक्रम गर्दै आएकाे छ। सवारी चेकजाँचमा समेत कडाई गरिएकाे धामीकाे भनाइ छ । जुम्लामा पाँच वटा ट्राफिक पाेष्ट छन् ।
पातारासीकाे उर्थुमा एकजना,तिलाकाे रारालिहीमा दुईजना,
तातोपानीकाे तिलाकाेटमा एक जना,हिमाकाे बड्कीमा एकजना र कनकासुन्दरीकाे गुठीज्युलामा एकजना जनशक्ति कार्यरत छन् ।
शुभाकर विश्वकर्मा । २३ श्रावण २०८१, बुधबार ०९:२१