जुम्लामा विमानस्थल स्थापनाको पहल होस् या जुम्ला अस्पताल निर्माणार्थ सुरु गरिएको श्रमदान अभियान । जुम्लामै पहिलोपटक विद्यालय स्थापनाको अगुवाई प्रसंग नै किन नहोस्,जुम्लाको हवाई,स्वास्थ्य र शिक्षा क्षेत्रको युगान्तकारी परिवर्तनका कुरा गर्दा छुटाउनै नहुने र श्रद्धाका साथ उल्लेख गरिनुपर्ने नाम हो,अदनसिंह कठायत । कठायत समाजसेवी,शिक्षासेवी,राजनीतिज्ञ र श्रम अभियान्ता थिए । नाम एक परिचय अनेक भएका कठायत जुम्लामा पञ्चायतमा चल्तीका नाम थिए,जुम्लामा ।

अदनसिंह कठायत
उनै कठायत अब साविक कर्णालीकै जेठो विद्यालय चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको प्रांगणमा शालिकमा जीवित रहनेछन् । त्यो त्यही विद्यालय हो, जुन विद्यालय स्थापनाको लागि कठायत जग्गा दान गरेका थिए । भवन निर्माणको लागि सर्व साधारणहरुलाई बटुलेर जन श्रमदान अभियानको अगुवाई गरे । यो विद्यालय वि.स.२०१४ सालमा अस्थायी रुपमा स्थापना भएको थियो ।

अदनसिंह कठायतको शालिक
कठायतले नै वि.स.२०२० सालमा स्थायी माविमा रुपमा स्थापना र सञ्चालन गर्न आफ्ना सबै भाईहरुको सहमतिमा जग्गा दान गरे । विद्यालय भवन निर्माणमा स्थानीय सर्वसाधारणहरुको जन श्रमदानको अगुवाई गर्दै निर्माण सम्पन्न गरेका थिए । विद्यालय स्थापनामा उनले खेलेको भूमिका र योगदानबारे २०६७ सालमा प्रकाशित मेरो जुम्ला र मेरो जीवन यात्रा नामक पुस्तकमा उल्लेख गरिएको छ । त्यतिबेलाको कर्णालीको अञ्चल सदरमुकाम जुम्लामा शिक्षाको ज्योति फैलाउन उनले खेलेको भूमिकाको कदर गर्दै यही भदौ १४ गते उनका भाई तिलक कठायतले विद्यालय प्रांगणमा निर्माण गरिएको अर्धकदको प्रतिमा अनावरण गरियो ।

उक्त शालिक विद्यालय व्यवस्थापन समितिको अनुमतिमा उनकै जिउनी सम्पतिबाट परिवारको सक्रियतामा शालिक निर्माण गरेर अनावरण गरि सार्वजनिक गरिएको हो । विद्यालय स्थापनाको लागि कठायतले खेलेको भूमिकाका बारेमा धादिङका डाक्टर सदानन्द कडेलले आफ्नो पुस्तक शैक्षिक ‘आकाशका उज्ज्वल नक्षत्र’मा अदनसिंह कठायतबारे लेखेका छन्, ‘उहाँलाई पूर्व अन्चलाधीश र पूर्व सहायकमन्त्रीमात्र भनेर बुझ्नु हुँदैन । २०१४ सालमा जुम्लाबाट एउटा टोलीसहित डोटी गएर राजा महेन्द्रलाई भेटेर साविक कर्णाली अञ्चलकै पहिलो हाईस्कूल जुम्लाको चन्दननाथ हाईस्कूल स्थापनाको स्वीकृति लिन पहल गर्ने टोली मध्येको अगुवा तथा स्कूलका सञ्चालक समितिका ‘सेक्रेटरी’ हुनुहुन्छ ।

चन्दननाथ मावि खलंगाको प्रांगणमा निर्माण गरिएको अदनसिंह कठायतको अर्धकदको शालिक
यस्तै, २०२० सालमा सोही हाईस्कूल राजा महेन्द्रबाट उद्घाटन गराउने कार्यका अगुवा व्यक्तित्व हुनुहुन्छ उहाँ ।’ कठायतको योगदानबारे थप चर्चा गर्दै कँडेलले भनेका छ,‘यहाँ पीएचडी गरेका मान्छे एउटा पुस्तक नलेखीकन महाप्रस्थान गरेका छन् तर पाँच कक्षासम्म पढेका अदनसिंहले एउटा किताब लेखेका छन् ।’ कँडेलका अनुसार एक शैक्षिक अनुसन्धाता तथा लेखकको नाताले कुनै विचार तथा दलगत घेराबाट माथि उठेर जो भएपनि योगदान गर्ने व्यक्तित्वको सम्मान गर्ने संस्कृतिको जगेर्ना गर्नुपर्छ ।
संक्षिप्त परिचय : को हुन् कठायत ?
अदनसिंह कठायतको जन्म वि.स.१९८१ असार १३ गते भएको हो । उनका पिताको नाम कालू सिंह कठायत र आमाको नाम मोतीपुरा कठायत हो । समाजसेवी,शिक्षासेवी,राजनीतिज्ञ र श्रम अभियान्तासमेत रहेका कठायत २०१५ सालमा राजा महेन्द्रबाट केन्द्रिय सल्लाहकार सदस्यमा मनोनित भएका थिए । कठायत २०१९ देखि २०३१ सालसम्म गरी १२ वर्ष राष्ट्रिय पञ्चायत सदस्य रहे । राष्ट्रिय पञ्चायत सदस्य रहेकै बेला २०३० सालमा खाद्य कृषि सहायक मन्त्री नियुक्त भएका थिए ।

२०३७ सालमा राप्ती अञ्चल अञ्चलाधिस नियुक्त भए । यसैगरी २०४५ सालमा राजा वीरेन्द्रबाट राज परिषद् सदस्यमा नियुक्त भएका कठायत २०४६ को परिर्वतनपछि भने रा.प्र.पा.मा सक्रिय रहे । जीवनको आधा समयजति तत्कालीन राज्यसत्ताको नजिक भएर काम गरेका उनले जुम्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । हालको जुम्ला विमानस्थलमा स्थापनाको अगुवाई कठायतले गरेका थिए । उनले २०१६ सालमै आफ्नो नेतृत्वको जुम्ला विमानस्थल निर्माणको पहलकदमी मात्रै लिएनन् उनकै नेतृत्वमा विमानस्थल शिलान्यास भएको थियो । यस्तै विमानस्थलको लागि कठायतले नै ६० मुरी जग्गा विमानस्थल निर्माण गर्न जग्गा प्रदान गरेको उनको पुस्तकमा उल्लेख गरिएको छ ।
कठायतमा २०१९–२०२० मा स्वतःस्फूर्त स्थानीय जन श्रमदानको अगुवाई गर्दै जुम्लादेखि बझाङ नेटासम्मको मूल बाटो सुधार र विस्तारको नेतृत्व गरेका थिए । यस्तै २०२० मा जुम्ला अस्पतालको निर्माणार्थ जग्गा प्राप्ति र जन श्रमदान जुटाउन सक्रिय भूमिका खेलेका छन् । बहुआयिक व्यक्तिको धनी कठायतको वि.स.२०७२ असार १० गते स्वर्गारोहण भएको थियो । कठायतको मृत्यु भएको १० वर्षदेखि परिवारको सक्रियमा अर्धकदको शालिक निर्माण भएको हो ।

शुभाकर विश्वकर्मा । १९ भाद्र २०८२, बिहीबार २१:२६