जुम्ला — तातोपानी गाउँपालिका–२ मा अवस्थित श्री हिमशिखर माध्यमिक विद्यालयमा शुक्रबार मावि स्तरको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
सेभ द चिल्ड्रेन, किर्डाक नेपाल र सहयात्रा तेस्रो परियोजनाको आर्थिक सहयोग तथा श्री हिमशिखर मावि र बाल क्लबको आयोजनामा आयोजित प्रतियोगितामा कुल १५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा प्रथम स्थान कालिका मावि टोप्लाका विकास शाही, द्वितीय स्थान दुर्गा माविका देवराज कामी, तृतीय स्थान नेत्रज्योति माविकी प्रमाणकृति कामी र सान्त्वना स्थान नेत्रज्योति माविका सुनिल साकीले प्राप्त गरे।
बालबालिकालाई जलवायु परिवर्तनले पार्ने प्रभावबारे ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको किर्डाक नेपालका जलवायु परियोजना संयोजक दिपेश आचार्यले जानकारी दिए। हिमशिखर माविका प्रधानाध्यापक धनबहादुर रोकायका अनुसार यो कार्यक्रम शुक्रबारको दिनको अवसर पारेर आयोजना गरिएको हो।
किर्डाक नेपालले विद्यालय, वडा र समुदायस्तरमा शिक्षा, बालअधिकार, बाल संरक्षण, जलवायु परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा गत एक वर्षदेखि निरन्तर कार्य गर्दै आएको छ। बालबालिकाको सृजनशीलता र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गरिएको उनले बताए।
कार्यक्रमको अध्यक्षता श्री हिमशिखर माविका प्रधानाध्यापक धनबहादुर रोकायाले गर्नुभएको थियो भने प्रमुख अतिथि तातोपानी गाउँपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत अगराज डाँगी हुनुहुन्थ्यो।
कार्यक्रमका क्रममा सबै विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो। साथै, विद्यालयमा भित्तेपत्रिका प्रकाशनमा पनि सहयोग गर्ने किर्डाक नेपालका बालअधिकार, शासन तथा बाल संरक्षण परियोजना संयोजक प्रकाश बहादुर शाहीले जानकारी दिए ।


डिल्ली कामी । २३ कार्तिक २०८२, शनिबार १९:५९