‘प्रकाश’ले जुम्लामा प्रिमियर गर्ने, कमाईको केही हिस्सा विद्यालयलाई दिइने

काठमाडौं । चलचित्र प्रकाशको जुम्लाबाट विश्व प्रिमियर गर्ने भएको छ । आगामी भदौ १० गतेबाट रिलिज हुने चलचित्र प्रकाशको जुम्लामा प्रिमियर गरिने भएको हो । प्रकाश जुम्लाकै एक युवकको कथा बोकेको चलचित्र हो । फिल्म युनिटले आगामी आइतबार छायांकन भएकै थलो जुम्लाको तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयमा प्रिमियर हुने भएको हो ।
फिल्मको छायांकन पनि सोही गाउँमा भएको थियो । कमाइबाट प्राप्त हुने केही हिस्सा स्कुललाई प्रदान गरिने निर्देशक दिनेश राउतले बताए ।


‘प्रकाश’ले भने छायांकन भएकै थलो रोजेको हो । अहिलेसम्म कुनै पनि नेपाली चलचित्रले छायांकन स्थलमा चलचित्र प्रिमियर गरेका छैनन् । अधिकांश प्रिमियर राजधानी केन्द्रित हुने गरेका छन् । प्रिमियरमा फिल्म हेर्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी र पेसा व्यवसायमा आवद्ध व्यक्तिलाई निम्तो दिइएको छ ।
चलचित्रको काठमाडौंमा चाहिं भदौ ८ गते बुधबार फिल्मको प्रिमियर हुने भएको छ । फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।