जलवायु परिवर्तनको असरः जुम्लाका किसान बाध्यतापूर्वक तरकारी खेतीतर्फ

जुम्ला – हिमाली जिल्ला जुम्लाका किसानहरूको जीवनशैली र खेतीपातीमा पछिल्ला वर्षहरूमा ठूलो परिवर्तन आएको छ । जलवायु परिवर्तनका कारण परम्परागत खेतीपाती ‐जस्तै मकै, कोदो, गहुँ) बाट प्राप्त हुने उत्पादन घट्दै गएको छ। समयमै वर्षा नपर्नु, हिउँ कम पर्नु, तथा मौसम असन्तुलित हुनुले परम्परागत खेतीमा ठूलो असर परेपछि किसानहरू बाध्यतावश नयाँ तरकारी खेतीतर्फ मोडिएका छन् ।

तातोपानी गाउँपालिका–५ श्रीनगरका किसानहरूले यस समस्यालाई प्रत्यक्ष भोगिरहेका छन् । नयाँ बस्ती कृषि समूह की अध्यक्ष ललिता कठायत भन्छिन,‘परम्परागत खेतीमा धेरै दुःख हुन्छ, तर फलफूल कम हुन्छ। त्यसैले हामीलाई तरकारी खेती गर्नैपर्ने भएको छ । जलवायु परिवर्तनकै कारण यो विकल्प रोज्नुपरेको हो ।’
परम्परागत खेतीबाट आत्मनिर्भरता गुम्दै
समूहकी ५० वर्षीया सदस्य नैनकली रावत पुरानो समय सम्झिँदै भन्छिन्,‘पहिले परम्परागत खेतीले ६ महिना खान पुग्थ्यो। अहिले उत्पादन घट्दा पेट भर्ने भन्दा बढी दुःख मात्र हुने गरेको छ ।’तर उनले अर्को कुरा पनि सुनाइन – सेभ द चिल्ड्रेन, सहयात्रा, र किर्डाक नेपालले दिएको सहयोगमा उनीहरूले तरकारी खेती सुरु गरेपछि अहिले वार्षिक करिब ५० हजार रुपैयाँ आम्दानी गर्न थालेका छन् । तर उनको भनाइमा, परम्परागत खेती अझै रहरले होइन, बाध्यताले सानो मात्रामा गरिन्छ ।


मौसम परिवर्तन र थप चुनौती
स्थानीय बासिन्दा बिजुली डाँगीका अनुसार, वर्षा ढिलो हुनु र जाडोमा हिउँ नपर्नुले परम्परागत खेती झन कमजोर बन्दै गएको छ । उनले जोड दिँदै भनिन्,‘जलवायु परिवर्तन न्यूनीकरण गर्न सरोकारवालाले अझ सक्रिय भूमिका लिनुपर्छ। स्थानीय तहले पनि सचेतना कार्यक्रम र अतिरिक्त सहयोगका गतिविधि गर्न जरुरी छ ।’


त्यस्तै, रासनदेवी गिरीले भने,‘यदि जलवायु परिवर्तनलाई समयमै नियन्त्रण गर्न सकिएन भने अझ धेरै समस्याहरू आउन सक्छन्। यो केवल खेतीपातीमा मात्र होइन, दैनिक जीवनका सबै क्षेत्रमा असर गर्ने सम्भावना छ । त्यसैले हरेक समुदाय, सरोकारवाला र संस्थाले मिलेर तयारी गर्नुपर्छ ।’
संस्थागत सहयोग र आवश्यकता
सहयात्रा तेस्रो परियोजनामा काम गर्दै आएका फिल्ड कर्मचारी महेश डाँगीका अनुसार,समुदायमा खेतीसँग सम्बन्धित समस्या मात्र होइन, जलवायु परिवर्तनसँगै जोडिएका अन्य सामाजिक तथा आर्थिक चुनौतीहरू पनि बढिरहेका छन् । उनले भने,‘समस्या समाधानका लागि सबै निकाय एकताबद्ध हुनुपर्छ । जलवायु परिवर्तनको असर सामना गर्न सबैको सहकार्य अपरिहार्य छ ।’


भविष्यका सम्भावना
जुम्लाका किसानहरू अहिले पनि परम्परागत खेतीलाई पूर्ण रूपमा छोड्न सकिरहेका छैनन् । तर बाध्यताले उनीहरूलाई आधुनिक तरकारी खेतीतर्फ धकेलिरहेको छ । यसले किसानहरूलाई नगद आम्दानी दिलाइरहेको भए पनि, जलवायु परिवर्तनको दीर्घकालीन चुनौती अझै समाधान भएको छैन । स्थानीय स्तरमा सचेतना, वैज्ञानिक प्रविधि प्रयोग, सिंचाइ प्रणाली सुधार, तथा वैकल्पिक बाली प्रोत्साहनजस्ता उपाय अपनाउन सकेमा मात्र भविष्यमा स्थायी समाधान खोज्न सकिने विज्ञहरूको सुझाव छ ।