जुम्लामा जातीय विभेद विरुद्धमा मुद्दा दर्ता ।

जुम्ला । जुम्लामा जातिय विदेभ तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्धा दर्ता भएको छ । सिंजा गाउँपालिका वडा नं.२ निवासी गौरीलाल जैशी तिमिल्सीनाले माघ १६ गते आफ्नो सामाजिक समग्र दलित समुदायको स्वाभिमानै आँच आउने शब्द प्रयोग गरेपछि जुम्लाका दलित अधिकारीकर्मीहरुले मुद्धा दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्धाशाखाको बुदा नं.४९ मा शुक्रबार विहान ११ः३० बजे नीज तिमिल्सीना विरुद्ध जातिय विदेभ तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्धा दर्ता भएको सूचना अधिकारी प्रहरी निरिक्षक याम बहादुर बुढामगरले जानकारी दिए। मुद्धा दर्ता भईसकेको र अब थप अनुसन्धान अघि बढ्ने उनको भनाई छ ।
पिडक तिमिल्सीनाले माघ १६ गते आफ्नो ‘गौरीलाल जैशी तिमिल्सीना’ नामको फेशबुकाबाट “गाई खाने डुम र मह खाने बाहुन कदापी एउटै हुन सक्दैनन्” भन्ने अभिव्यक्तिले समग्र दलित समुदायको ईज्जत,मानसम्मान, प्रतिष्ठानमा आँच आउने गरी दिएको विभेदपुर्ण अभिव्यक्ति विरुद्ध कानुनी उपचार खोजिएको दलित सेवा संघ जुम्लाका स-सचिव लालसिह कामीले बताए ।

जातिय आधारमा कुनै विभेद गर्न नपाईने संविधानमा उल्लेख हुँदा पनि सामाजिक संजालमै दलितलाई इंगित गरी दिएको अभिव्यक्ति विरुद्ध जुम्लाका दलित अधिकार कर्मी एकजुट भएका छन् ।

जातिय विभेद तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ दफा ४ अनुसार विद्युतीय कारोबार ऐन बमोजिम कसुर गरेको देखिन्छ । भने नीज आरोपितलाई जातिय विभेद तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ दफा ७ को उप दफा (१) र (२) बमोजिम कारबाहिको माग समेत गरिएको छ ।

यसअघि गत वर्ष जुम्लामा एउटा जातिय विभेदको मुद्धा दर्ता भएको थियो । समाजमा जातिय विभेद विद्यमान रहेपनि उजुरीका रुपमा हाल सम्म २ वटा मुद्धा दर्ता भएका छन् ।