जुम्ला – आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्ला जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अनुसार जुम्लामा एक जना स्वतन्त्रसहित कुल १० जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारहरूसँगै एक जना स्वतन्त्र उम्मेदवारले पनि आफ्नो दाबी प्रस्तुत गरेका हुन्। उम्मेदवारी दर्ता गर्नेहरूमा नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेकपाबाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बिनिता कठायत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही रहेका छन्।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट विर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल, नेपाल जनता पार्टी (नेजपा)बाट रनिल विक्रम शाही, नेकपा (माओवादी केन्द्र)बाट विर्खबहादुर शाही तथा स्वतन्त्रतर्फबाट भक्तबहादुर रावलले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
उम्मेदवारी दर्तासँगै जुम्लाको राजनीतिक माहोल थप तातेको छ। अब उम्मेदवारहरू आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदातामाझ पुग्ने तयारीमा जुटेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

डिल्ली कामी । ७ माघ २०८२, मंगलवार २२:३७