जुम्ला । यस वर्ष जुम्लामा सरकारी पूर्ण अनुदानमा ठुलो सङ्ख्यामा जीर्ण घरका छाना फेरिने भएको छ । नेपाल सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो ।
जसमा जुम्लाका आठ स्थानीय तहमध्ये ३ पालिकामा २ हजार २ सय ४३ वटा घरका छाना फेरिने भएको छ । जस अन्तर्गत जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा एक हजार २ सय १९ घरका छाना फेरिने भएका छन् ।
पहिलाका नियमित तर्फका ३ सय १९ र हाल थपिएका ९ सय घर गरी जम्मा १२ सय १९ घरमा जस्ताको छाना फेरिने चन्दनाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । उहाँका अनुसार कार्यविधि अनुसार विपन्न नागरिक छनोट गरी छाना फेरिने छ । विगतको भन्दा ९ सय घर थपिएका विपन्नले राहत पाउने उहाँको आशा छ ।
त्यस्तै तातोपानी गाउँपालिकामा ५ सय १२ वटा जीर्ण घरका छाना फेरिने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।
साथै हिमा गाउँपालिकामा पनि ५ सय १२ वटै घरका छाना फेरिने भएको छ । विगतमा ६०/६२ घरका मात्रै छाना फेरिने गरेपनि हाल विशेष आफ्नो पहलमा ठुलो संंख्यामा थपिएर ५ सय १२ घरको छाना फेरिने हिमाका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए ।
तातोपानी, हिमा र चन्दननाथमा छाना फेर्नका लागि विगतको भन्दा ठुलो सङ्ख्यामा कोटा थपिनुमा सघन सहरी तथा भवन निर्माण आयोजनाका सव–इन्जिनियर चन्द्र खड्काको विशेष सहयोग रहेको छ ।
उता पातारासी, गुठिचौर, तिला, कनकासुन्दरी र सिंजा गाउँपालिकाका अध्यक्षहरूले कति कोटा स्वीकृत भएको भन्ने एकिन जानकारी आई नसकेको बताए ।
प्रतिघरलाई ७५ हजार अनुदान
घरको छाना फेर्नका लागि प्रति लाभग्राहीले ७५ हजार अनुदान पाउने भएका छन् । छाना फेर्नका लागि विगतका वर्षमा ५० हजार अनुदान दिने गरिएकोमा यस वर्ष २५ हजार थपेर ७५ हजार प्रति लाभग्राहीले पाउने भएका हुन् ।
प्रति लाभग्राही ७५ हजारका दरले हिमा, तातोपानी र चन्दननाथका २ हजार २ सय ४३ जना लाभग्राहीका लागि १६ करोड ८२ लाख २५ हजार बजेट लगानी गरिने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र खड्काले बताए ।
उहाँले भने, “अन्य पालिकामा पनि छाना फेर्ने कार्यक्रम लागु हुने छन् । विगतको भन्दा माथिबाटै बजेट बढेर आएको छ । भुक्तानी कार्यालयले गर्ने छ । निर्माण कार्य सम्बन्धित पालिकाले गर्ने छ ।”(साभार )sagar prayar


जुम्ला दर्पण । ७ पुष २०७९, बिहीबार ०८:०६