कोहलपुर: बाँकेका कोहलपुर नगरपालिकामा नापी तथा मालपोत कार्यालयको शाखा उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमका बीच नापी र मालपोत कार्यालयको शाखा उद्घाटन गरिएको हो ।
एक कार्यक्रमका बीच नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कार्यालय उद्घाटन गरेकी थिइन् ।

यो कार्यालयको कार्यक्षेत्र जिल्लाका तीन वटा स्थानीय तह रहेका छन् । बैजनाथ र राप्तीसोनारी गाउँपालिका कार्यक्षेत्र रहनेगरी दुई वटा कार्यालयको संयुक्त उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शशी श्रेष्ठले बाँकेका तीन वटा स्थानीय तहका नागरिकलाई सहज र सरल सेवा प्रवाहका लागि स्थापना गरिएको बताइन् । उनका अनुसार कार्यालय बोर्ड झुण्ड्याउन र सस्तो लोकप्रियताको लागि मात्रै उद्घाटन गरिएको होइन । आफू बादी, कमलरी तथा भूमिहीनहरुको खुसी लागि तत्पर रहेको बताइन् ।

सम्पतिमा महिलालाई प्राथमिकता दिइएको उनको भनाइ छ । उक्त अवसरमा बोल्दै नेपाल सरकार युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराज अथकले कोहलपुरमा मालपोत र नापी कार्यालय उद्घाटन हुनु खुसीको क्षण भएको बताए । उनका अनुसार अब तीन पालिकाका नागरिक सेवाका लागि नेपालगन्ज जानु पर्ने दिनको अन्त्य हुने भएको छ ।

उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाका लागि भूमिका खेल्ने सम्पूर्ण राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । तत्काल पुरानो संरचनामा सेवा प्रवाह हुने र छिटो भन्दा छिटो सेवा प्रवाह हुने उनले बताएका थिए ।
उक्त समारोहमा नापी विभाग महा निर्देशक प्रकाश जोशी , भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्वर घिमिरे र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


जुम्ला दर्पण । १२ भाद्र २०७९, आईतवार २०:०९