कोहलपुरमा ज्रेबा क्रसिङबारे ज्ञान सिकाउँदै विद्यार्थी

कोहलपुर: बाँकेको कोहलपुरमा विद्यार्थीहरुले चालकहरुलाई जेब्रा क्रसिङका बारेमा ज्ञान बाँडेका छन् । आइतबार कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालय नजिकै विद्यार्थीहरुले जेब्रा क्रसिङ र ट्राफिक सुरक्षाका विषयमा चालकहरुलाई ज्ञान बाडेका हुन् । म पनि एक दिन स्वयंसेवक बन्नु अभियान अन्तर्गत मा.वि. तहमा अध्ययन गर्ने १० जना छात्रले सवारीका चालकहरुलाई सचेतना प्रदान गरेका थिए । उनीहरुले चालकहरुलाई सवारी चलाउँदा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेले जनाएको छ । कुनैपनि व्यक्ति स्वयंसेवकको रुपमा जनचेतना फैलाउन सक्ने कार्यक्रमको समन्वय ट्राफिक प्रहरी कार्यालयले गरेको थियो ।


अभियानका स्वयंसेवक दिनेश उपाध्यायका अनुसार यो अभियान हरेक महिनाको एक दिन सञ्चालन हुनेछ । म पनि एक दिन स्वयंसेवक कार्यक्रम विशुद्ध सामाजिक अभियान भएको उनले बताए । उनले यो अभियानमा जुनसुकै व्यक्ति जोडिन सक्ने बताए । हाइस्कूल चोकमा आइतबार विहान ९ बजेदेखि १० बजेसम्म सञ्चालन भएको जनचेतनामुलक कार्यक्रममा बालविद्यालय सेकेण्डरी स्कूलका १० जना छात्र स्वयंसेवकका रुपमा सहभागी भएका थिए । उनीहरुले नै चालकहरुलाई मूल सडक मै सचेतना प्रदान गरेका हुन् । उपाध्यायले विद्यार्थीहरुले जेब्रा क्रसिङबारे जानकारी, सवारी साधनको गति मापन, सडकको दायाँबायाँ नजिकै पार्किङ्ग गरेर राखेका सवारी साधनका मालिकलाई ट्राफिक नियमबारे जानकारी, सवारी सुरक्षा लगायतका विषयमा सचेतना प्रदान गरेका थिए ।
ट्राफिक प्रहरीसहितको उपस्थितिमा भएको जनचेतनामुलक कार्यक्रममा चालकहरुले साना बालकहरुबाट जानकारी पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए । टेम्पो चलाउँदै आएका एक जना चालकले आफू सधै सुरक्षित रुपमा यात्रा गर्ने गरेको तर, कहिलेकाहीँ बिर्सिने समस्या भएको बताए । कोहलपुर–नेपालगन्ज सडकमा टेम्पो चलाउँदै आएका विनोद ठकुरीले यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्ने बताए । उनका अनुसार यस्ता कार्यक्रमले दुर्घटना न्युनिकरणमा सहयोग पुग्छ । अभियानका स्वयंसेवक उपाध्याय त अभियान हरेक महिनाको एक दिन सञ्चालन हुने बताउँछन् । ‘ यो सामाजिक अभियान हो । यसमा सबैजना जोडिन्छन् । अभियानलाई विस्तारै व्यवस्थित गर्दै लिने सोचमा छौँ,’ उनले भने ।यस्ता प्रकारका जनचेतनामुलक कार्यक्रमले सुधारात्मक संकेत दिने उनको विस्वास छ ।