सन्दीप लामिछाने भन्छन् : सबै आरोपको सामना गर्न तयार छु

काठमाडौँ — बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफूमाथि लागेका सबै आरोपको सामना गर्न तयार रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूमाथि लागेका सबै आरोप आधारहीन रहेको बताउँदै आरोपको सामना गर्न तयार रहेको बताएका हुन् ।

उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बिदा लिएर केही दिनमा नेपाल फर्किनेसमेत बताएका छन् । ‘म निर्दोष छु र नेपालको सम्मानित कानुनप्रति पूर्ण विश्वास राख्दछु‚’ लामिछानेले लेखेका छन्‚ ‘मैले सीपीएलबाट बिदा भएर केही दिनमा नेपाल फर्किने निर्णय गरेको छु । सबै आरोपहरूको सामना गर्न म तयार छु ।’

आफू निर्दोष भएको दाबी गर्दै लामिछानेले निर्दोषलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् । आफूमाथि लागेका सम्पूर्ण आधारहीन आरोपको सामना गर्ने बताउँदै उनले भनेका छन्‚ ‘निर्दोषलाई न्याय मिलोस् । संलग्न सबैमाथि उचित अनुसन्धान होस् । आशा गर्छु कि कानुनले सबैलाई समान व्यवहार गर्छ ।’

गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।