जुम्ला । कर्णाली प्रदेशकै प्रशिद्ध धार्मिक पर्यटकिय स्थल जुम्ला सदरमुकाम स्थित चन्दननाथ भैरबनाथ मन्दिरको लिङ्गो फेरिएको छ । परम्पराअनुसार घटस्थापनाका दिन आईबार मन्दिरमा नयाँ लिङ्गो हालिएको हो । मन्दिरमा ५२ हातको लिङ्गो र ५२ हातको ध्वजा तथा नेजा हालिएको छ ।
सयौ भक्तजन,सुरक्षाकर्मीको सहभागितामा मन्दिरमा नयाँ लिङ्गो हालिएको चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष पुर्णसिंह कठायतले बताउनुभयो । उहाँले भन्नुभयो,“चन्दननाथ मन्दिरमा लिङ्गो हालेपछि मात्रै मात्रै कर्णाली क्षेत्रमा घटास्थापना भित्राउने चलन छ । भने जुम्लामा चन्दननाथकै माटो लिएर घरमा जमरा राख्ने गरीन्छ । वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंङ्गो निकालेर नयाँ लिंङ्गो हाल्ने चलन छ ।”
एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिंङ्गो र ५२ हातकै ध्वजा राख्ने प्रचलन रहेको जुम्लाका सस्कृतिविद रमानन्द आचार्य बताउँनुहुन्छ । उहाँका अनुसार घटास्थापनाकै दिन बटुक भैरवनाथ मन्दिरमा भने ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा सहितको लिङ्गा फेरिएको छ ।
लिङ्गो ठड्याउँदा नेपाली सेनाले तोप सहितको सलामी दिने गर्छन् । मन्दिरमा विजय स्तम्भसहित २ वटा लिङ्गो ठड्याइन्छ । विहानैदेखि भक्तजन तथा सुरक्षाकर्मीको बाक्लोे सहभागितामा लिङ्गो हालिन्छ ।
लिङ्गोमा फूल अछेता,पैसा हाल्नेको भिड पनि बाक्लो हुने गरेको छ । मनको इच्छा पुरा हुने,माटो लिँदा उब्जनी बढ्ने,पुरानो लिङ्गोको ध्वजा लिँएर लगाउँदा भुतप्रेत नलाग्ने जस्ता सामाजिक मुल्यमान्यता अहिले पनि कायमै रहेका कारण लिङ्गो फेर्दा बाक्लो भिड हुने गरेको समेत गुठिका अध्यक्ष कठायतले जानकारी दिनुभयो ।
चन्दननाथ भैरबनाथ मन्दिरमा लिङ्गो खडा गरेसंगै घरघरमा घटनास्थाना भित्राएपछि मात्रै जुम्लामा औपचारिक दशै शुरु भएको मानिन्छ । साथै घटस्थापनाका दिन नायँ मार्सी धानको चामल समेत मन्दिरमा चढाउने गरिन्छ । जसलाई स्थानीय भाषामा (न्वागी) भन्छन् ।
न्वागीका रुपमा मन्दिरमा मार्सीधानको शिख चढाएपछि उत्पादन बृद्धि हुने समेत मान्यता रहेको स्थानीय चित्रलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्दिरको माटो लिएर खेतमा हाल्ने र जमरा राख्ने चलन छ । तर विगतको जस्तो स्थानीयको सक्रियता देखिन्न । सुरक्षाकर्मीकै भरमा लिङ्गो फेर्नु पर्ने अबस्था छ । भक्तजनको आर्कषण घट्दै जानुले मन्दिरको पुजा आजाका कामहरु प्रभावित छन् ।”
यता प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले मन्दिरको सुरक्षा व्यवस्थापनमा कुनै कसुर नराख्ने बताउनुभयो । चाडपर्व लक्षित सुरक्षा योजना पनि बनाएका छौ । चाडपर्वमा हुने सक्ने घटनाहरुको न्युनिकरणमा प्रहरी प्रशासन लागि परेको उहाँको भनाई छ ।
स्थानीयतहका प्रमुख उपप्रमुख,तीन वटै सुरक्षा निकायका प्रमुख सयौ भक्तजन र सुरक्षाकर्मीको सहभागितामा चन्दननाथ भैरबनाथ मन्दिरमा नयाँ लिङ्गा फेरिएको छ । सावार karnalipost.com
जुम्ला दर्पण । १० आश्विन २०७९, सोमबार १५:५५