BREAKING : समाजवादी जुम्लाका हजारौ नेता कार्यकर्ता एमालेमा फर्किदै

असोज २० गते भित्र नेकपा एकीकृत समाजवादीमा पहिरो जान लागेकै हो त ? नेतृत्व भन्छ : होइन हल्ला मात्रै हो ?

जुम्ला : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदैँ जाँदा जुम्लामा चुनावी रौनक सुरु भइसकेको छ । जिल्लामा क्रियाशिल राजनीतिक दलहरु आन्तरिक रुपमा चुनाव प्रचार प्रसारमा लागिसकेका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जुम्लामा गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिष्पर्धा हुने सम्भावना छ । यहाँ विशेषगरी प्रतिनिधि सभामा रोचक प्रतिष्पर्धा हुने निश्चित छ । कमजोर जनमत रहेको राप्रपाले केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाहीलाई उम्मेदवार बनाएको छ । उनी अहिले पूर्ण रुपमा चुनावी मैदानमा होमिसकेका छन् ।

 

पार्टी विभाजनको धेरै प्रभाव परेको नेकपा एमालेले केन्द्रिय सदस्य तथा जुम्ला जिल्लाका पार्टी इन्चार्ज रतननाथ योगीलाई अघि सारेको छ । तिला गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका उनी कमजोर दलीय जनमतका बीच चुनावी मैदानमा होमिएका छन् । उनले नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी समेत सम्मिलित तीन दलीय गठबन्धनको समाना गर्नुपर्नेछ । योगीलाई गठबन्धनले नै मुख्य चुनौती दिनेछ । जुम्लामा प्रतिनिधि सभाको उम्मेदवार नेकपा माओवादी केन्द्रबाट गठबन्धनको साझा उम्मेदवार बन्नेछ । केन्द्रबाट उम्मेदवारको लाइनमा चार जना नेता छन् । उनीहरु आफ्नो पक्षमा टिकट पार्न शक्ति केन्द्र धाइरहेका छन् ।

बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नराम्रो पराजय भोगेको नेकपा एमाले यसपटक अन्य पार्टीबाट कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने अभियानमा छ ।

यसैवीच, जुम्लादर्पण डटकमको निर्वाचन विशेषमा कुराकानी गर्दै पार्टी इन्चार्च तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार योगीले नेकपा एमालेमा ठूलो कार्यकर्ता पंक्ति प्रवेश गर्न लागेको संकेत गरे । नेकपा एकीकृत समाजवादी पार्टी जुम्लासँग एकता हुन लागेको हो र ? भन्ने जुम्लादर्पणको प्रश्नमा उनले पार्टीसँग तत्काल एकताको सम्भावना नरहेको तर, ठूलै कार्यकर्ता पंक्ति मूलघर मै फर्किन लागेको बताए ।
उनको अभिव्यक्ति झै केहीदिन यता जुम्लामा समाजवादीबाट ठूलो संख्यामा नेता कार्यकर्ता नेकपा एमालेमा फर्किन लागेको खवर एक कान दुई कान हुँदै मैदान हुदैँछ । यो विषयले चिया चौतारोसम्मै प्रवेश पाएको छ ।

विस्वस्त स्रोत भन्छ, नेकपा एकीकृत समाजवादीबाट तीन हजारको हाराहारीमा नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्दैछन् । स्रोतका अनुसार उनीहरु ढिलोमा असोज २० गतेसम्म नेकपा एमालेमा फर्किन लागेका छन् । एमालेमा फर्किनेमा समाजवादी निकट सिंगो शिक्षक संगठन र निजामती संगठनका साथै जिल्लाको पदाधिकारी तहका केही नेता मूलघर मै फर्किन लागेका हुन् । एमालेमा फर्किन लागेको एक प्रतिनिधि टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तीनपटक छलफल गरिसकेको छ । महासचिव शंकर पोखरेलदेखि जुम्लाका इन्चार्ज र पार्टी अध्यक्षसँग समेत उक्त टोलीले संवाद तथा भेटघाटलाई तिव्रता दिएको छ ।

 

जुम्लादर्पणसँग टेलिफोनमा कुराकानी गर्दै एमालेमा  फर्किन लागेका एक नेताले भने,‘प्रवेश नभनौ न हो,एमालेमा प्रवेश हुन्छ र हिजो रगत पसिना बगाएको पार्टी नेकपा एमाले हो । मूलघरमा फर्किने विषयमा छलफल चलिरहेको छ । निर्णय भइसकेको छैन ।’ आफ्नो नाम नबताउने सर्तमा उनी पार्टीभित्र भने छलफल गर्न नपाइएको बताउँछन् । यस विषयमा आफ्नो पार्टीभित्र समेत छलफल हुने उनको भनाइ छ । आफूहरु नेकपा एमालेमा फर्किने तयारी गरेको उनले पुष्टि गरे । एमालेमा फर्किने विषयमा पार्टीभित्रै औपचारिक रुपमा छलफल गरेरै एउटा निर्णयमा पुग्ने उनी बताउँछन् ।

समाजवादीको कार्यकर्ता एमालेमा फर्किन लागेको विषयमा समाजवादीको जिल्ला नेतृत्व पनि जानकार छ । नेतृत्व भन्छ, एक टोलीले ओलीसँग भेट गरेको सूचना प्राप्त भएको छ । तर,एमालेमा फर्किने कुरा हल्ला मात्रै हो ।
यसविषयमा,जुम्लादर्पणसँग कुराकानी गर्दै समाजवादी जुम्लाका अध्यक्ष आदीप्रसाद न्यौपानेले समाजवादीका नेता कार्यकर्ता एमालेमा फर्किन लागेको भन्ने हल्ला सत्य नभएको बताए ।