जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मूल्यांकनमा उत्कृष्ट भएको छ । स्थानीय तहहरूको कार्यक्षमता,पारदर्शिता,बजेट व्यवस्थापन, योजना कार्यान्वयन, लेखा प्रणाली तथा निगरानी प्रक्रियाको आधारमा गरिएको मूल्यांकनमा तातोपानीले सबैभन्दा उत्कृष्ट ‐उच्च) अंक प्राप्त गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ काे नतिजामा जुम्लाका आठ पालिकामध्ये तातोपानी गाउँपालिका उत्कृष्ट बनेको छ ।
तातोपानी गाउँपालिकाले समग्रमा ९८.८१ प्रतिशत अंक प्राप्त गरेको छ । जिल्लाको एक नगरसहित अन्य ६ गाउँपालिकाहरुलाई पछि पार्दै तातोपानी पहिलो स्थान हासिल भएको अध्यक्ष नन्द्रप्रसाद चौलागाईले बताए ।
तातोपानी गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा पनि पहिलो स्थान हासिल गरेको हो ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.७४ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७१.१३ प्रतिशत, लेखा प्रणाली तथा वित्तीय व्यवस्थापनमा ७२.२६ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५२.७५ प्रतिशत, र राजस्व व्यवस्थापनमा ६०.३५ प्रतिशत अंक प्राप्त गरेको छ ।
समग्रमा, तातोपानी गाउँपालिकाको मूल्यांकन ९० प्रतिशत रहेको छ, भने स्थानीय आर्थिक विकास मूल्यांकन (BED) मा ९२ प्रतिशत अंक प्राप्त गरेको छ ।
यो मुल्यांकनमा भाग लिने जुम्लाको तातोपानी गाउँपालिका एक मात्र हो । जिल्लाका अन्य स्थानीय तहले यसमा भाग लिएकै छैनन् ।
तातोपानी गाउँपालिकाले राम्रो शासन प्रणाली, पारदर्शिता, तथा वित्तीय व्यवस्थापनमार्फत उत्कृष्ट प्रदर्शन गरेको भन्दै अध्यक्ष चौलागाईले खुसी व्यक्त गरे । स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा टेवा पु¥याउने विश्वास उनले लिएका छन् ।
शुभाकर विश्वकर्मा । ३० माघ २०८१, बुधबार १९:४१