दश हजार राशीको पुरस्कारबाट पत्रकार सागर परियार पुरस्कृत

जुम्ला  : जुम्ला जिल्लाको पत्रकारिताको इतिहासमा पहिलोपटक व्यक्तिगत रुपमा स्थापित स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार सागर परियार पुरस्कृत भएका छन् । स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाद्धारा स्थापित दश हजार राशिको पुरस्कारबाट नेपाल पत्रकार महासंघ जुम्लाका सहसचिव समेत रहेका पत्रकार परियार पुरस्कृत भएका हुन् ।

उनलाई एक औपचारिक समारोहका बीच जिल्ला समन्व्य समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले प्रमाण पत्र, पुरस्कारको चेकसहित पुरस्कृत गरेका थिए । परियार कर्णाली पोष्ट दैनिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन् । हाल कारोबार दैनिक र रेडियो नेपालका जुम्ला संवाददाता समेत रहेका पत्रकार परियारले २०७२ सालमा रेडियो पत्रकारिता सुरु गरेका थिए ।

पुरस्कृत पत्रकार परियारले विभिन्न क्षेत्रबाट प्रदान गरिने पुरस्कार तथा सम्मानले पत्रकारितामा थप उर्जा थपिने बताएका थिए । प्रतिष्ठानले हरेक वर्ष जुम्ला तथा कर्णाली क्षेत्रमा क्रियाशील पत्रकारिता गरिरहेका एक जना पत्रकारलाई सम्मानित गर्नेछ । प्रत्येक वर्ष पुरस्कारको राशी थप हुँदै जाने प्रतिष्ठानले जनाएको छ ।

पुरस्कार वितरण समारोहमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही, तातोपानी गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष विशाल खड्का, रामसिंह रावल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।