जुम्ला : अध्येता माधव चौलागाईंद्वारा लिखित पुस्तक ‘सपादलक्ष कर्णाली’ माथि पठन अनुभूति कार्यक्रम सम्पन्न भएकाे छ । इतिहास प्रधान पत्रिका उत्सुक पाइला व्यवस्थापन समूहकाे आयाेजनामा पुस्तकमाथि चन्दननाथ माविमा पठन अनुभूति कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा पाँच जना पाठकले आफ्नाे पठन अनुभुति र पुस्तकमाथि समीक्षा गरेका थिए । आफ्नाे पठन अनुभूति बताउँदै अध्येता रमेश मल्लले पुस्तक पठनयाेग्य रहेकाे बताए । उनका अनुसार पुस्तकले कर्णालीका विविध पक्ष समेटेकाे छ ।
पुस्तक नयाँ पुस्ताका लागि प्रेरक रहेकाे उनले बताए । `याे पुस्तक प्रकाशनमा आएदेखि पढ्न चाहेकाे थिए । पुस्तक पढेपछि धेरै कुरामा ज्ञान प्राप्त भयाे´, उनले भने ।
यस्तै जुम्ला बहुमुखी क्याम्पसका प्रध्यापक हिक्मत बुढ्थापाका अनुसार पुस्तकले कर्णालीकाे लाेक संस्कृति, रहनसहन, भेषभुषा,इतिहास समेटेकाे छ । पुस्तकमा सरल भाषा समावेश भएकाे पढ्न सहज हुने उनकाे भनाइ छ ।उनले भने,`पुस्तकमा राजनीतिक पूर्वाग्रह छैन ।धेरै विषयकाे फ्युजन छ । पुस्तक समग्रमा दस्तावेजका रूपमा आएकाे छ । ´
शिक्षिका पुष्पा बिष्टले सपादलक्ष कर्णालीले धार्मिक र सांस्कृतिक सहिष्णुता कायम गरेकाे बताइन् । पुस्तकले खस साम्राज्य र मष्टाे परम्पराबारे स्पष्ट पारेकाे उनकाे भनाइ थियाे । यस्तै उनले पुस्तकले वतर्मान कर्मचारी तन्त्रमा रहेका समस्याकाे चित्रण गरेकाे जानकारी दिइन् ।
कवि/अध्येता यमराज कार्कीले पुस्तकमा खस भाषाकाे बाहुल्यतामा कमी पाइएकाे बताए । केही संख्यामा जुम्ली खस शब्द समावेश भएकाे भन्दै पुस्तक खसमय हुन नसकेकाे टिप्पणी समेत गरे । पाठक भेष बहादुर रावलले पनि पुस्तक पठनयाेग्य रहेकाे बताएका थिए ।
उक्त अवसरमा बाेल्दै पुस्तक सपादलक्ष कर्णालीका लेखक
माधव चाैलागााईले लेखनकाे प्रेरणा कर्णालीकाे उत्सुक पाइला नामक पत्रिका भएकाे बताए । पाठककाे प्रतिक्रियाले आफूलाई पुस्तकका कमीकमजोरी, सबल पक्षका साथै सुधार गर्नुपर्ने पक्षबारे जान्न पाएकाे उनले बताए ।
थप विषय दाेस्राे संस्करणमा समावेश गर्ने उनकाे भनाइ छ । यसअघि पुस्तकमाथि चितवन र सुर्खेतमा विमर्श कार्यक्रम सम्पन्न भएकाे थियो ।
सपादलक्षको अर्थ — सवा लाख (एक लाख २५ हजार) पर्वतहरूको क्षेत्र हाे ।
मइडो, काँचुली र सुइना गरि किताब तीन खण्डमा विभाजन गरिएको छ ।
`मइडो’ भनेको घरको चुह्लो वा अँगेना वरिपरि बस्ने ठाउँ हो।
`मइडो’ जुम्ली शब्द हो । दोस्रो खण्ड ‘काँचुली’ मा वर्तमान अवस्थाको कर्णाली भेटिन्छ। सरकारी निकायले गरेका कामहरूको विश्लेषण माधवले यसमा गरेका छन् ।
अन्तिम खण्ड ‘सुइना’ शब्दको अर्थ सपना हाे । यसमा माधवले कर्णालीको भविष्य र अवसरहरूको कुरा गरेका छन्।कार्यक्रमकाे माेडरेटर पत्रकार कृष्णमाया उपाध्यायले गरेकी थिइन् ।
जुम्ला दर्पण । ८ जेष्ठ २०८१, मंगलवार ११:३९