राष्ट्रिय दलित पत्रकार संघ,नेपाल बाँकेको दोस्रो साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न

काेहलपुर : राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बाँके शाखाको दोस्रो साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच संघको दोस्रो साधारण सभा तथा अधिवेशन भव्य रुपमा सम्पन्न भएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमार्फत जिल्ला समिति चयन गरिएको छ ।
कविन्द्र परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।

संघको उपाध्यक्ष आशा परियार, सचिवमा शान्ति सुनार र सह सचिवमा सिम्रन विश्वकर्मा (चाइनिज) र कोषाध्यक्षमा रामगोपाल विश्वकर्मा सर्वसहमतिमा चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रमिला विश्वकर्मा, जनता रैका, उमेश दलामी र प्रेम बैगार रहेका छन् ।


यस्तै अधिवेशनमार्फत केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र सल्लाहकार समितिसमेत चयन गरिएको छ । बन्द सत्रबाट केन्द्रिय प्रतिनिधिमा कुशल दलामी र हेमन्त विक चयन भएका छन् ।

यस्तै प्रदेश प्रतिनिधिहरुमा विद्युत्मा रैका, रुप गहतराज,अनिता विश्वकर्मा र शुभाकर विश्वकर्मा चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा शिव सुनार, पुजन विश्वकर्मा, रुपा गहतराज, गणेश विशु र हेमन्त विक चयन गरिएको संघकी सचिव शान्ति सुनारले जानकारी दिइन् ।
उद्घाटन सत्रमा बोल्दै उक्त अवसरमा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले संघ नेपालका ६० लाख दलित समुदायको आवाज रहेको बताए ।

उनका अनुसार संघमा आवद्ध पत्रकारहरुमार्फत दलित समुदायका दबिएका आवाज बुलन्द गर्न आवश्यक छ । यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले अहिलेपनि समाजको मूल प्रवाहमा आउन नसकेको समुदायहरुलाई समाचारका माध्यमबाट जागरुक बनाउनुपर्ने बताए ।

उनले कोहलपुर नगरपालिकाले सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन सत्रमा शुभकामना दिने सम्पूर्ण वक्ताहरुले दलित पत्रकार संघले शसक्त संगठनका रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । अधिवेशनको अवसरमा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई सम्मान गरिएको थियो ।