मेरो जन्म दिन …..।

राजु नेपाली (सिदार्थ)

आज भन्दा १९ बर्ष अगाडि .पुसको महिना । गर्मीयाम सकिए सङ्गै मंसिरको ठन्डी चिसो सुरु भएर पुषको ठन्डी सुरु भईसकेको थियो । यति मात्र होईन म जन्मिनु पुर्व हिउँ परिसकेको पनि थ्यो रे , प्रकृति निकै चिसो थ्यो , हिउँले डाडाकाडा सेताम्मे भएका थिए !! मंसिरमा छरेका ‘जाैँ’ टुसाउदै थिए , सबै फुल ओईलिएका थिए , हरिया घासपात,रुखहरु सुकेका साथै बगैंचामा पातहरु झरेका थिए ।
अनि अँध्यारो रात , आईतबारको दिन परेको , ९ बजेको समयमा , भारी भएको मेरो बुवाको मन  , कठीन मेरी आमाको प्रसव पिडा अनि परिवारको खुसी सहित दोस्रो छोराको रुपमा आज म जन्मिएको दिन । मेरो आमाबुवाको आँखा खुसीका आँसुले भरिएको दिन । मेरा बाबा आमा दोस्रो पल्ट बाबा आमा बनेको दिन ,   मैले संसार देखेको दिन, म रोएको दिन अनी आमा र बुबा खुसि भएको दिन, बुबालाई जिम्मेवारी थपिएको दिन , मैले यो धर्तीमा पहिलो पटक आँखा खोलेको दिन, आवाज निकालेको, पाइला टेकेको दिन ।
सायद मेरि आमाले बुबालाई भेटेको दिन, माया प्रिती लगाएको दिन बिर्सन भयो होला । उहाँहरुको बिबाहको मिति बिर्सनु भयो होला । आफ्नो जन्मदिन विर्सनुभयो होला । जीवनका अति दुःखद पलहरु बिर्सनु भयो होला । तर मलाई लाग्दैन मेरो जन्मदिन बिर्सनु हुन्छ भनेर । आज मेरो जन्म दिन ।
मेरो हजुरबुवाको पुरानो अनि सानो घर थियो , माटोले छाएको । जहाँ मेरा बाबाले आमालाई बिहे गरेर ल्याएर राख्नुभएको थियो । म जन्मनु १ बर्ष अगावै मेरो स्व.दाइ जन्मेको रे , कारणबस म पनि पेटमा हुर्किन थालेछु अनि स्व.दाईले दूध खान पाउदैन भनेर मलाई पेटभित्र मार्ने धेरै प्रयास गरियो रे , तर भाग्यबस , म जन्मन सफल भए रे र मेरा बाबा आमाको बिहे भएको करिब अढाई बर्ष पछि जन्मीएको म , आमाको पेटमा आएको नौ महिनामा त्यो मेरो सानो अनी प्यारो घरको एउटा कुनामा  जन्मीएको हुँ रे, जन्मिदा मेरो नाक सानो थ्यो रे आमा भन्नुहुन्छ , म जन्मिने समयमा मेरी आमाको साथमा मेरो आफ्नो हजुरआमा र छिमेकी हजुरआमा हुनुहुन्थ्यो रे !!
आफुले नखाएर मलाई खुवाउने आमा । आफुले नलगाएर मलाई कपडा लगाई दिने मेरो बुवा । अनी हरेक क्षणमा म मुस्कुराएको देख्न चाहने मेरो परिवार । आमा…! बुवा…! म बाल्यकाल हुदैँ अहिले सम्म हुदाँ समेत हजुरहरुलाई सम्बोधन गर्ने कुनै शब्द भेटेको छैन र भेटु पनि कसरी ?
यो महान शब्दको म कसरि बर्णन गरू आमा ? म त शब्दमा यो सबै लेख्न व्यतित छु । मेरो जिबनमा कहिले ब्यबहारमा यो सबै शब्द उतार्न पाउला ? मेरो जिबनका धेरै लक्ष्य होलान , पूरा होलान/नहोलान? तर बस मेरा भगवानरुपि आमा बाबालाई सधै खुशि राख्न पाउँ । मानिस कति निर्दयि छन है ? भगवान खोज्न मन्दिर पस्छन् , किन पस्नु पर्यो मन्दिर ? आफ्ना आमा बाबा लाई सधै माया गर घृणा नगर ।
सधै आमाबाको भनेजस्तै काम गर किन खोज्न जानु पर्यो भगवान ? म मन्दिर नि त्यहि पाउछु भगवान नि त्यहि पाउछु जहाँ मेरा आमा बाबा हुनुहुन्छ । हजुरहरुको चरणमा थिए , छु र सधै त्यहि हुनेछु आमा अनि बाबा ।
म सम्झन्छु ।
आमा, हजुर धर्ती हो, मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन् । बुवा, हजुर आकाश हो, मलाई हरेक कुराको कमी हुन दिनु भएन। हजुरहरुले भन्नु हन्थ्यो नी , ‘राम्रो बनेस, ज्ञानी बनेस, धेरै पढेस, ठूलो मान्छे बनेस, झगडा नगरेस्, आफु भन्दा अगाडीको मान्छेले भनेको सबै कुरा मानेस्, आमाबुवाको र परिवारको ईज्जतको ख्याल गरेस् ।’
म अहिले पनि हजुरहरुले सिकाएको बाटोमा छु । अहँ, मैले बाटो बिराएको छैन्, तर माफ गर्नुस आमाबा – म संघर्षको महासंग्राममा छु – मैले हजुरहरुलाई विश्राम दिन सकेको छैन !! जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र ? मन नदुख्ने कस्को हुन्छ र ?
मलाई मेरो घरपरिवार,आफन्तजन,ईष्टमित्रको ठुलो साथ छ । सहयोग छ । माया छ । ममता छ । स्नेह छ । अनी मात्रै म यहाँ सम्म आएको छु । यदी हजुरहरुको साथ र सहयोग नभएको भए राम्रो लगाउन पाउदैन थिए होला । म बाबा-आमा भन्दा भौतिक दुरिले टाढा छु , रौतहट जिल्लाको सदरमुकाम गौरमा ३ बर्षे डिप्लोमा ईन फार्मेसि अध्ययन गर्दै छु । यदि तपाईहरुको शाथ नभएको भए रौतहटमा बसेर पढ्न पाउदैन थिए होला । यो सबै हजुरहरुको प्रेरणा र सहयोगले हो । मलाई आसा छ । म जिन्दगी भर हजुरहरुको माया र प्रेरणा पाइरहनेछु ।
म फेरी सोच्छु । मेरो आमा अनि बाबाको अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ मेरो छोरा अर्थात “म” हो। त्यो बेलाको दुध भातले माया दर्शाएको छ । अनि सन्तान मोह छ साथमा । म मेरो आमाबुवाको जीवन बिमा हुँ !!
जिबनका हरेक पाईलामा हजुरहरुले गरेको संघर्षलाई नजिकबाट नियाल्न नपाएपनी राम्रो सङ्ग बुझेको छु , बाबाले हाम्रा अनि परिवारका लागि भनेर १० बर्षमा कालापहाड गएर अनेक काम गरि , त्यत्रो परिवारलाई मिलाई अहिले सबैलाई राम्रो जीवन बिताउन सक्ने बनाउनुभएको छ , भारतमा ब्याबसाय गरेर अझै पनि परिबारका हरेक सुख,खुसिका लागि संघर्ष गरिरहनुभएको छ , आमा तपाईले घर मा किसान काम गरेर परिबारको सुखका लागि गरेका संघर्ष बुझेको छु ।
यदाकता विभिन्न प्रकारका भाव संगै सामाजिक सञ्जालमा फोटाहरु छरपष्ट पार्ने सन्तान पनि थुप्रै छन् । बुढेसकालमा बृद्धाश्रम लिएर छोडिदिने सन्तान पनि छन् । अनी आमाबाको उच्च सम्मान गर्दै बुढेसकालको सहारा बनेका सन्तान पनि छन् । म मेरो शरिरमा एक मुठी सास रहेसम्म रहुन्जेल सम्म म हजुरहरुलाई खुसी बनाउने छु, र हजुरहरुको बुढेसकालको लौरी बनेर सहारा दिने छु ।
मेरा बाबा अनि आमा !
साच्ची आफू जन्मेको दिन भन्दा बित्तिकै त्यो दिन निकै उज्यालो हुँदो रहेछ, रमाइलो हुदो रहेछ, आनन्दित हुदो रहेछ । अनि सबैको शुभकामना रुपी सन्देशहरु केलाइरहदा पनि उत्तिकै हर्ष लाग्दो रहेछ । कति बेला लाग्छ, समयले बिस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागी प्रयत्न गर्दै छ । मेरो अर्थ मलाई बुढो बढाउँदै छ, हिजो, आज, भोली – एक दिन, हप्ता, महिना, बर्ष , दशक गर्दै, यो संसारमा बाच्ने दिनहरु कम हुँदै छन ।
जीन्दगीको परिभाषा ‘नाटक’ रहिछ । हँसाउने र रुवाउने दुवै पात्र नाटकमा हुन्छन् । अन्त्यमा सन्देश छोडेर सकिन्छ नाटक । अनि जिन्दगी पनि । नाटकको मञ्चन गर्दै मलाई यहाँ सम्म ल्याउने सबैमा नमन् । हजुरहरुको बर्षौबर्ष स्नेह पाउ । आज मेरो जन्म दिन ।