जुम्ला : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई तत्काल पद छोड्न ध्यानाकर्षण गरिएको भन्दै सार्वजनिक भएकोले पत्रले नेपाली काँग्रेस जुम्लामा भाडभैलो मच्चिएको छ । असोज २ गते नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढासहितका आठ नेताले पार्टीको आधिकारिक लेटरप्याडमा विभिन्न चार माग राखेका थिए । त्यसमा सभापति देउवाले पद छोड्नुपर्ने उल्लेख गरिएको छ ।

नेपाली ध्यानाकर्षण पत्रमा राजनीतिक सन्यासको व्यवस्था गर्न,एक पद एक व्यक्तिको सिद्धान्तु लागू गर्नुका साथै पदावधि स्पष्ट र सीमित बनाइनुपर्ने उल्लेख गरिएको थियो । सार्वजनिक पदहरुको अवधि तोकिनुपर्ने,पार्टीमा आर्थिक पारदर्शिता तथा सुशासन कायम गरिनुपर्नेसमेत उल्लेख छ । तर शुक्रबार नेपाली कांग्रेस जुम्लाका सभापति कर्ण शाहीले उक्त पत्र आधिकारिक नभएको बताएका छन् ।
शाहीले जारी गरेको पत्रमा सभापति देउवालाई संबोधन गरि पठाएको पत्र संस्थागत नभई निजी धारणा मात्र भएको उल्लेख छ । स्पष्ट पारिएको भन्दै नेपाली कांग्रेस जुम्लाको लेटरप्याडमा जारी सूचनामा भनिएको छ,‘२०८२ असोज २ गते नेपाली कांग्रेस जुम्लाको लेटर प्याडमा केही साथीहरुले पार्टीका केन्द्रिय सभापतिलाई ध्यानाकर्षण भनि लेखेको पत्र नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आधिकारिक नभई निजी धारणा भएको जानकारी गराइन्छ ।’

जुम्ला दर्पण । ३ आश्विन २०८२, शुक्रबार १४:४१