जुम्लामा क्यान्सर पीडित बिर्ख विश्वकर्मालाई दीपाश्रीको सहयोगी हात

काठमाडौं । जुम्लाका २३ वर्षिय बिर्ख विश्वकर्माको सपना संगीतमा सफल बन्नु हो । सयौं गीत र म्युजिक भिडियोमा काम गरिसकेका उनी मान्छेले सपना देख्न छाड्नु हुँदैन भन्छन् ।

७ महिनाअघि रगतको क्यान्सर पुष्टि भएपछि उनको सांगीतिक करिअरमा धक्का लागेको छ त तर, विचलित भएका छैनन् । सेकेन्ड स्टेजको क्यान्सरबाट पीडित उनी नियमित उपचार गराइरहेका छन् ।

९ वर्षको सांगीतिक करिअरमा आफूले गाएका सयौं गीतले उनलाई जीवनप्रति आशा दिइरहेका छन् । तर, रोगले थलिएपछि उनको आशामा तुषारापात लागेको थियो । संगीतमा भविष्य बनाउन चाहने यी ठिटाले यतिबेला भने सांगीतिक भरोसा पाएका छन् ।

कलाकार दीपाश्री निरौला, मिथिला शर्मा, निर्मल शर्मा, रमेश बुढाथोकी बिर्खको भरोसा बनेर उभिएका छन् । यी मनकारीको मद्दतमै बिर्खले बुधबार नयाँ म्युजिक भिडियो ‘उनी त मेरै हुनेवाली हुन्’ सार्वजनिक गरे ।

बिर्ख स्वयमको कम्पोज रहेको गीतको गायनमा उनलाई प्रविशा अधिकारीले साथ दिएकी छन् । गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको निर्देशन दीपाश्रीले गरेकी हुन् । ‘छक्कापञ्जा ५’को चटारोबीच दीपाश्री, निर्मलले यो गीत तयार पारिदिएका हुन् ।क्यान्सर पीडित बिर्खकै आत्मबल बढाउन दीपाश्री, निर्मल, मिथिला र रमेशले पारिश्रमिक नलिइकनै भिडियोमा अभिनय गरेका छन् । पोस्ट-प्रोडक्सन लगायतका प्राविधिक कार्यमा पनि यो टीमले सघाएको छ ।

‘उहाँको आत्मबल बढोस् र रोगसँग लड्ने शक्ति प्राप्त होस् भनेर सहयोग गरेका हौं’ दीपाश्रीले अनलाइनखबरसँग भनिन्, ‘हामीले हाम्रो ब्यस्तताबीच जुन सहयोग गर्‍यौं, त्यसप्रति खुसी छौं ।’

बिर्खको उपचारमा सघाउने समेत दीपाश्रीले बताइन् । यस्तै प्रतिभावान कलाकारलाई भविष्यमा सघाउने उनीहरुको तयारी छ । बिर्खले सुरुमा फेसबुकमार्फत अप्रोच गर्दा, आफूहरुले नकार्न नसकेको र बिर्खमा उज्वल भविष्य देखेको दीपाश्रीले बताइन् ।

बिर्खले पनि यी सहयोगी हातप्रति खुसी व्यक्त गरे । ‘जुन दिन दिदी, दाईहरुलाई भेटेँ, गार्जियन भेटेजस्तै लाग्यो’ सानैमा अभिभावक गुमाएका बिर्खले भने, ‘उहाँहरुलाई भेटेपछि परिवार भेटेजस्तो लागेको छ ।’

अभिनेता निर्मल शर्माका अनुसार बिर्खको उपचारमा सघाउन जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले प्रदेशमा पहल गर्ने वचन दिएका छन् ।@ onliekhabar