: माधव चौलागाईं
शैक्षिक योग्यता : स्नात्तकोत्तर, चुलालोङ्गकोर्न विश्वविद्यालय, थाइल्याण्ड पेशा : लेखक तथा अनुसन्धानकर्ता (जनस्वास्थ्य क्षेत्र‘) कर्णाली सुनको डल्लो हो’ केही दिनअघि कर्णाली प्रदेशसभामा माओवादी नेता तथा सांसद राजकुमार शर्माले कर्णाली प्रदेशबारे गरेको टिप्पणी हो यो ।
अनि माओवादीकै अर्का नेता नरेश भण्डारीका शब्दमा, ‘कर्णाली चाँदीको घेरा हो ।’ जुम्लाबाट निर्वाचित भएर पहिलोपटक २०६४ सालमा सांसद बनेपछि प्रकाशित पुस्तकमा भण्डारीले अगाडि लेखेका छन्, ‘सुनको सिरानी हालेर नुनको खोजी गर्ने कर्णालीबासीको बाध्यता’ । उनको पुस्तक र जीवन भोगाईको सारमा आशय यस्तै छ ।
जनयुद्धका नाममा ‘हतियार युद्ध’ गर्दै व्यवस्था परिवर्तन गरेको दाबी गर्ने माओवादी नेताहरुले कर्णालीलाई सुन डल्लो र चाँदीको घेरा देख्न झण्डै बिसौँ वर्ष लाग्यो । लागिरहेकै छ । त्यो केवल महसुस मात्रै । व्यवहारिक पाटो धेरै कमजोर देखिएकै छ ।
त्यसअगाडि सत्यमोहन जोशी र भैरव रिसालका पुस्तकमा अभाव, अशिक्षा र गरिबीले गाँजेको कर्णाली शाहीकालीन सरकारको चश्माको फ्रेममा सजिएको थिएन । राजा महेन्द्रदेखि वीरेन्द्रसम्मले कर्णालीका जुन जुन जिल्ला र क्षेत्रको भ्रमण गरे, त्यही सुन्दर टिप्पणी मात्रै गरे । मुगुको रारा ताल हेरेपछि राजा महेन्द्रले कविता लेखेरै भनेँ, ‘स्वर्गकी अप्सरा’ ।
राजा वीरेन्द्रले सुर्खेत भ्रमण गरेपछि असाध्यै मोहित भएर सुर्खेत नगरीको नाम वीरेन्द्रनगर राखिदिए । कर्णालीको राजधानी सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर राजा वीरेन्द्रकै नामबाट नामाकरण गरिएको कथन छ ।
देखे, सुनेको इतिहास जे जस्तो भएपनि वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, इतिहास तथा साहित्यकार सत्यमोहन जोशी (स्वर्गीय) र पाका पत्रकार भैरव रिसालका देखाइ, भोगाइ र सुनाइमा कर्णाली सुन्दर र सम्भावनाले भरिपूर्ण भएपनि राज्यको नजरबाट दूरीले ओझेल परेको ‘दुर्दशायुक्त’ ठाउँ हो । कर्णालीको भौगोलिक कठिनाई र त्यही समस्याले समस्याग्रत शिक्षा र स्वास्थ्य संकटले कर्णालीको दुर्दशा केही घटेको मात्रै छ, हटेको छैन ।
त्यसबाहेक सत्यमोहन जोशीले कर्णालीको कला र संस्कृतिबारे धेरै राम्रो, केही लामो र फरक खालको अध्ययन गरेका छन् । जुन उनका कृतिमा समावेश छन् । र, ती कृतिले प्रतिष्ठित मदन पुरस्कार जितेका छन् ।
केही दिनअघि पोखरामा सम्पन्न १० औँ संस्करणको ‘नेपाल साहित्य महोत्सव’मा वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले कर्णालीका जुम्ला, हुम्ला, डोल्पा र मुगु बहुमूल्य जडिबुटीको खानी भएको टिप्पणी गरेका थिए । जसले पहिलोपटक हिडेरै कर्णालीका विभिन्न जिल्लामा पुगेर वनस्पतिबारे अध्ययन तथा अनुसन्धान गरेका छन् । र, त्यही अनुसार नामाकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली नामसहित चिनाएका छन् ।
कर्णालीलाई सुनको डल्लो, चाँदीको घेरा, जडीबुटिको खानीदेखि अभावले ग्रस्त दुर्दशासम्म भनेर टिप्पणी गरेपनि त्यसअघि कर्णाली कस्तो थियो ? सुनको डल्लो मात्रै नभई पित्तल थियो वा तामा ? एकिकरणपछि नेपाल राज्यमा गाभिएको सिँजा राज्यको इतिहास कस्तो थियो ?
कर्णालीका खलंगाहरुको इतिहास कसरी रहन गयो ? खासगरी नेपाल एकिकरणपछि सबैभन्दा ओझेल परेको र कर्णालीमै सीमित देखिएको खस भाषाको स्वीकारोक्ति तथा विस्तार कसरी सम्भव भयो ?
यी धेरै प्रश्न र जिज्ञासाका पछाडि पछिल्लो समयका क्रियाशील लेखक तथा इतिहासकार माधव चौलागाईंको साक्षर र सार्थक प्रयास छ ।
साक्षर यसअर्थमा कि धेरैले पढ्छन् । बुझ्छन् । र, त्यो आफ्ना लागि हुन्छ । पढ्नु, बुझ्नु र बुझाउनु एउटा कुरा होला । तर पढेको, बुझेको र खोजेको कुरालाई धेरै जनासमक्ष लैजानु नितान्तर फरक काम हो । जसले इतिहास संकलन र सुरक्षित राख्न ठूलो भूमिका खेल्छ ।
कर्णालीको इतिहास तथा नखोतलिएको विषयबारे श्रृङ्खलाबद्ध खोज्दै, लेख्दै र सुरक्षित गर्ने काम अहिले चौलागाईंले गरिरहेका छन् । त्यो पनि कैयौँ पुस्तक पढेर इतिहासकालीन तथ्य जाँचबुझ गर्दै । विचारप्रधान न्युजपोर्टल सेतोपाटी डटकममा उनका दर्जनौ ऐतिहासिक लेख प्रकाशित छन् ।
त्यसमध्येको एक लेखमा उनले लेखेका छन्, ‘वास्तवमा कर्णाली क्षेत्रको सदियौंको जनसांख्यिक शिथिलता एउटा युद्ध प्रतिशोधले निम्तिएको भयानक नरसंहारको श्रृंखला थियो। । केही तथ्यहरूले यसलाई प्रमाणित गर्छन् । पश्चिमा जुम्लाराज्य सबभन्दा बलियो थियो । गोर्खालीले पटकपटक प्रयास गरी बि.सं. १८४६ असोज २३ मा जुम्ला राज्यको केन्द्र छिनासीम जिते पनि जुम्ला, मुगु र हुम्लाका गाउँतिर गोर्खालीविरूद्ध बिद्रोह भइरह्यो ।’
‘गाउँको जडो खोज्दा भेटिएको कर्णालीको रहस्यमय इतिहास’ शीर्षकको लेखको सारमा माधव चौलागाईंले लेखेका छन्, ‘कम्तीमा ६०० वर्षको इतिहास भएको गाउँमा हालसम्म १३५ घरधुरी मात्र विस्तार भएको छ । माथि चर्चा गरिएजस्तै महामारी तथा अन्य दैवीप्रकोपका कारण मात्र नभई तत्कालीन सामाजिक राजनीतिक प्रतिकूलताका कारण पनि स्वभाविक वृद्धि र विस्तार हुन नसकेको हो । जसरी समग्र कर्णालीको इतिहासको पछिल्लो दुई सय वर्षको कालखण्ड अन्धकार छ, त्यसरी नै गाउँको इतिहास पनि ओझेलमा छ ।’
यस्ता दर्जनौ तथ्य र आखा तिरमिराउने तथ्यांक केलाउँदै माधव चोलागाईंले थुप्रै लेखहरु लेखेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीले नेपालसहित सारा संसार लकडाउनमा रहेका बेला उनले कर्णालीमा महामारी शीर्षकमा अनुसन्धानमुलक लेख लेखेका छन् ।
कर्णालीको महामारीको कुरा गर्दा धेरैलाई जाजरकोटको झाडापखाला प्रकोपमात्रै याद छ । २०६६ सालमा जाजरकोटमा फैलिएको झाडापखालाले सयौँको ज्यान गएको थियो । तर चौलागाईंले लेखेको लेखमा कर्णालीको महामारीबारे १२५ वर्षे इतिहास भेटिन्छ । उनका अनुसार त्यतिबेला प्लेग, बिफर, झाडापखाला, ठेउला, हैजा, ज्वरोले कर्णालीमा महामारी नै फैलिएको थियो । २०५१ सालमा कर्णालीमा हैजा ठूलै महामारीका रुपमा फैलिएको थियो । जुन धेरै वर्षसम्म कायम रह्यो ।
त्यसअघि १९७५ सालमा कर्णालीमा खोकीज्वरो फैलिएको थियो । यो तथ्य उनले रत्नाकर देवकोटा र रमानन्द आचार्यबाट लिएका हुन् । त्यसबारेको ज्वरोले कर्णालीका धेरै गाउँ रित्तिएका थिए । मान्छे जलाउने र मशानघाट लाने अवस्थासम्म थिएन ।
हैजा, ज्वरोखोकी लगायत दर्जन बढी महामारी र अनिकालले गर्दा नै कर्णाली आत्मनिर्भरबाट परनिर्भर बनेको अर्को तथ्य पनि चौलागाईंले सो लेखमा राखेका छन् । जुन आज पर्यन्त छ ।
त्यसबाहेक कर्णालीको इतिहास, भूगोल, दर्शन र तत्कालीन राजकाँजका बारेमा थाहा भएसम्म वा स्रोत सामग्री पढेसम्म उनले लेख्न भ्याएका छन् । कर्णालीका अमूल्य पूरातात्विक सम्पदाको बेहाल अवस्थादेखि विश्वकै अग्लो ठाउँ जुम्लामा फल्ने मार्सी चामलबारे पनि उनले लेख्न भ्याएका छन् ।
उनका लेखहरुमा विगतको तथ्य, तथ्यांक र विस्तृत जानकारीदेखि वर्तमान समयको यतार्थ चित्रण पाइन्छ । केही प्रवृत्तिगत समस्यालाई स्पष्ट लेख्न सक्ने उनमा गुनासोभन्दा बढी गम्भिर चिन्तन हुन्छ ।
वर्तमान वस्तुस्थितीबारे सही मूल्यांकन गर्न सक्ने उनका लेखमा विगतको समीक्षा गर्दै भविष्यको सम्भावना देखाउने कला पनि छ ।
जुम्ला तातोपानीको लाम्रा गाउँमा जन्मिएका चौलागाईंले थाइल्याण्डको चुलालोंकर्न विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नात्तकोत्तर गरेका छन् । अहिले कर्णालीमा चल्तीका लेखक बन्नुअघि उनी पेशाले स्वास्थ्यकर्मी हुन् । अप्रेसन थियटरमै नपुगेपनि उनले कर्णालीका धेरै गाउँठाउँमा जनस्वास्थ्य विषय पढेर स्वास्थ्य सेवा गरेका छन् ।
लाम्राकै तत्कालीन दुर्गा निम्न माध्यामिक विद्यालयबाट औपचारिक शिक्षाको थालनी गरेका उनले चन्दन माविबाट ८ कक्षा र त्यसपछि तातोपानीको हिमशिखर माविबाट एसएलसी पास गरेका हुन् । कर्णालीमा एसएलसीलाई औपचारिक शिक्षाको सबैभन्दा ठूलो मानक ठान्ने चलन छ ।
एसएलसी पास हुनुलाई कर्णालीमा ठूलो मान्छे बन्ने बाटो खुलेको अवसरका रुपमा लिन्छन् । कर्णालीकै शब्दमा त्यही ठूलो मान्छे बन्ने क्रममा चौलागाईंले कर्णाली प्राविधिक शिक्षालयबाट सिएमए पढेर केही समय स्वास्थ्य सेवामा होमिएका हुन् । जुम्लापछि उनले स्थायी जनस्वास्थ्य अधिकृत भएर हुम्लामा समेत काम गरेका थिए ।
जुम्लामा रहेको आइएनएफ अर्थात कुष्ठरोग अस्पतालमा उनले आठ वर्ष काम गरेको अनुभव छ । झण्डै १० वर्ष कर्णालीमा स्वास्थ्यकर्मी भएर काम गरेका उनी पछिल्लो १५ वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सेवामा विषय विज्ञका रुपमा काम गरिरहेका छन् ।
खासगरि कर्णाली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थामा आबद्ध भएर उनी अध्ययन तथा अनुसन्धानको काम गर्छन् । लामो समयदेखि ‘रिसर्चर’ रहेका उनी स्वास्थ्यकर्मीभन्दा बढी लेखक, इतिहासकार र अभियान्ताका रुपमा परिचित छन् ।
स्वास्थ्यकर्मीबाहेक जुम्ला क्याम्पसबाट प्लस टू, सुर्खेत शिक्षा क्याम्पसबाट स्नातक र काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा उनले स्नात्तकोत्तर गरेका छन् । अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थामा काम गरिरहने उनले थाइल्याण्डको बैंककमा रहेको चुलालोंगकोर्न विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा पनि स्नात्तकोत्तर गरेका छन् ।
त्यसबाहेक जनस्वास्थ्य विधामा उनले महामारी विज्ञान, एचआईभी, मातृशिशु स्वास्थ्यसम्बन्धि विषयमा उनले धेरै तथ्यांक विश्लेषण गरेर लेखेका लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन् ।
चौलागाईं लेखक, विश्लेषक र इतिहासकार हुनुका पछाडि उनको पत्रकारिता पृष्ठभूमि पनि छ । जुम्लामा पहिलोपटक म्यागजिन जस्तै पत्रिका ‘कर्णालीको उत्सक पाइला’मा काम गरेको अनुभव उनीसँग छ । त्यसको प्रकाशन गर्दा उनले संयोजनको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले ‘खुट्किलो’ हाते पत्रिका प्रकाशित गरेका थिए । त्यसबाहेक उनीसँग रेडियोमा प्रस्तोता भएर कार्यक्रम चलाएको पनि अनुभव छ ।
कर्णाली एफएममा प्रस्तोताको भूमिका निर्वाह गर्दा उनले त्यो रेडियोको स्थापनाकालमा आफ्नो योगदान दिएका थिए । जिल्लामा पत्रपत्रिका निकाल्ने र लेख रचना छाप्नेदेखि रेडियोमा बोल्ने अनुभवसमेत संगालेका उनीसँग आफैँले लेखेका कविता, मुक्तक, गजल, कथा पनि थुप्रै छन् । तर ती प्राय प्रकाशित छैनन् । आफ्ना अनुसन्धानमुलक लेखबाहेक उनी आफ्ना साहित्यिक रचनाबारे खुलेर कुरा गर्न चाहदैनन् ।
माथि उल्लेखित उनका प्राय लेखहरु कर्णालीको इतिहास, संस्कृति, सामाजिक परिवेश र वर्तमान समयको साक्षीका रुपमा प्रकाशित छन् । सेतोपाटीमै उनले पछिल्लो लेखमा कर्णाली प्रदेश सरकारको पाँच वर्षको समीक्षा गरेका छन् ।
भर्जिन कर्णालीको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएका कर्णालीका राजनीतिक दलका नेताहरुले मूल्यवान समय खेर फाल्दा कर्णालीका जनतामा निराशाको बादल मडारिएको तथ्य प्रस्तुत गरेका छन् ।
कर्णालीका बारेमा धेरै विषयवस्तु केलाएर लेखिरहेका उनी चाँडै नै ‘कर्णाली काया’ नामको पूस्तक प्रकाशनको तयारीमा छन् । खासगरि लोकतन्त्र आएपछि काठमाडौँमा कर्णालीको स्वर बढ्न थालेको मानिन्छ ।
लोकतन्त्र, गणतन्त्रपछि संघीयता कार्यान्वयनमा जाँदा कर्णालीको स्वर केन्द्रीय राजधानी काठमाडौँमा चर्कोसँग उठेको हो । त्यसअघि काठमाडाँैमा कर्णालीमा आम मानिसलाई खस भाषाको लवज मात्रै सुनिएपनि ‘पाखे’ भनेर जिस्क्यान्थ्यो ।
तर अहिले काठमाडौँमा खस भाषालाई नेपाली भाषाको आमाका रुपमा चिनिन्छ । नेपाली भाषाको स्रोत नै खस भाषा हो भन्ने बुझाइ फराकिलो बनाउन चौलागाईंको ठूलो भूमिका छ ।
खस भाषाका जानकार तथा संकलक रमानन्द आचार्यलाई कर्णालीमा पहिलोपटक आयोजना भएको ‘कर्णाली उत्सव’को पहिलो संस्करणमै वक्ता बनाएर खस भाषाबारे ठूला मञ्चमा बहस गर्न लगाउने व्यक्तित्वमा माधव चौलागाईं पर्छन् । कर्णाली उत्सवका मेरुदण्ड मानिने चौलागाईंले नै खस भाषामै कर्णाली उत्सवको स्लोगान ‘कुडा कर्णालीका’ राख्न प्रेरित पनि गरेका हुन् ।
कर्णाली उत्सव आयोजक समिति सदस्यसमेत रहेका चौलागाईं कर्णालीको साहित्य, संरचना, राजनीतिक परिवर्तन र युवाहरुको भूमिकाका बारेमा खुलेर बहस तथा छलफल गर्ने व्यक्ति हुन् ।
युवाहरुलाई सँधै प्रोत्साहित गर्ने उनी पर्यावरणबारे निकै गहिरो ज्ञान राखेर सचेतना फैलाउँदै अभियान चलाउने अभियान्ता पनि हुन् । कर्णालीमा पर्यावरणका लागि साइकल अभियान चलाएका उनले जुम्लाका युवाहरुलाई साइकल चढ्न धेरै प्रेरित गरिरहेका छन् ।
कर्णाली राइडर्स नामक अभियान नै चलाएर सुर्खेत र जुम्लाका विभिन्न ठाउँमा युवा साथीहरुसँग साइकल र्याली गरिसकेका उनी झण्डै दशक अघिदेखि साइकल चढ्छन् ।
विभिन्न ठाउँमा आयोजना हुने साइकल अभियानमा सलंग्न उनी कर्णालीको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रका बारेमा निरन्तर लेखिरहने लेखकसमेत हुन् । काठमाडौँमा कर्णालीका बारेमा निरन्तर लेख्ने र बहस तथा छलफल कार्यक्रम संयोजन गर्ने उनी खुलेर कर्णालीको बारेमा ‘डिस्कोर्स’ चलाउने अभियान्तासमेत हुन् ।
चौलागाईंले पहिलोपटक जुम्लाको लाम्रा अर्थात आफ्नै गाउँमा गाउँकेन्द्रित ‘लाम्रा संवाद’ चलाउँदै आएका छन् । लाम्रा संवादले गाउँका कुरा, बुढापाकाका अनुभव र गाउँ निर्माण तथा विकासको किवंदन्ती संकलन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
कर्णालीमा गाउँमा पनि व्यवस्थित रुपमा गाउँकै महत्वपूर्ण व्यक्ति राखेर बहसमुलक ‘लाम्रा संवाद’ कार्यक्रम सञ्चालन गर्ने उनी पहिलो व्यक्ति हुन् । अहिलेसम्म गाउँमा त्यसरी वर्षैपिच्छे संवाद चलाइएका छैनन् ।
कर्णालीको विगत, वर्तमान र भविष्यबारे कैयौँ सकारात्मक पक्ष निरन्तर खोज तथा अध्ययन गरिरहने लेखक तथा इतिहासकार माधव चौलागाईंलाई
जुम्ला दर्पण । २१ पुष २०७९, बिहीबार १७:२२