डिल्ली अन्जान जुम्ला—जुम्लाको तातोपानी गाउँपालिका–६ हियाँखोलाका ६० वर्षीया विष्णुदेवी रोकायाले अस्पताल बनाउन जग्गादान गरेकी हुन् । द्वन्द्वकालमा छोरा छक्क रोकाया नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भूमिगत थिए । द्वन्द्वकालमा उनले बम विस्फोट ज्यान गुमाए । उनका अरु छोराछोरी छैनन् । युद्धमा ज्यान गुमाएका तिनै एक्ला छोराको सम्झनामा रोकायाले अस्पतालका लागि जग्गा दान गरेकी हुन् । ‘जग्गा भएर के गर्नु ?,’ उनले भनिन्, ‘छोराको सम्झनामा ३८ लाख ८२ हजार ६ सय बराबरको जग्गादान तातोपानी गाउँपालिकालाई अस्पताल बनाउन दान गरेकी हुँ ।’ उनलाई आफूले छोराको सम्झनामा दान गरेको जग्गामा छिट्टै अस्पताल बनेको हेर्ने धोको छ । ‘आफ्नो आँखाले अस्पताल निर्माण भएर जनताले उपचार पाएको हेर्न पाए हुन्थ्यो,’ उनले भनिन्, ‘तर गाउँपालिकाले अस्पताल बनाउन ढिलो गरिरहेको छ ।’ अस्पतालको सुविधा नभएकै कारण २०५३÷५४ तिर दुःख गरेर हुर्काइ सकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै गुमाउनु परेको उनी बताउँछन् । उनीहरुको मृत्युले पारेको पीडा नसकिँदै वि.सं. २०५८ सालमा १८ वर्षका छोरा छक्क रोकायाको पनि निधन भयो । रोकायाले श्रीमान् नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई पाँच बेडको अस्पताल निमार्णका लागि जग्गादान गरेकी हुन् । उनले भनिन्, ‘जग्गादान गरेको पाँच वर्ष भइसक्यो । अहिलेसम्म अस्पताल निर्माण भएको छैन ।’ छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेष गरी उसकै योगदानको स्मरणमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेकी थिइन् । तर, पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर अस्पताल बनाउन जग्गादान गरेको उनले सुनाइन् । छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायाको मृत्यु भएको थियो । एकमाथि अर्को पीडा सहेर एकल जीवन बिताइरहेकी रोकायालाई आफ्नो पीडाभन्दा पनि समाजमा देखिने गरेका समस्याले बढी सताउने गरेको गरेको छ । ‘सानो छँदै छोराछोरी मरे । ती मरेका लालाबालाबाट लागेको पीडा नमेटिदै ठूलो छोरा बित्यो,’ उनले भनिन्, ‘पछि आएर आफ्नो जीवनसंगीले नै छोडेर गए । १३ वर्षदेखि एकल जीवन बिताइरहेकी छु ।’ तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले अस्पताल निर्माणका लागि साढे १० करोड बजेटको टेण्डार आह्रान भएको छ । ‘अस्पताल निर्माणको लागि टेण्डर आह्रानको काम अगाडि बढेको छ । गाउँपालिकाले उहाँको योगदानलाई उचित कदर गर्नेछ,’ उनले भने, ‘जग्गामाथि अब सुविधासम्पन्न अस्पताल निर्माण गरिने र रोकाया दम्पती र छोरा छक्कसहितको इतिहास रहने गरी योगदानको कदर गरिनेछ ।
जुम्ला दर्पण । ३ बैशाख २०८०, आईतवार १६:१३