तातोपानीको १२ महिने उपलब्धि: श्रमदान सुरुवातदेखि पालिका गानसम्म

जुम्ला : तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले आफ्नो कार्यकालको एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । गाउँपालिकाले चौलागाईं नेतृत्वमा २०७९ देखि २०८० वैशाख मसान्तसम्म सम्पादन गरेका २० उपलब्धी सार्वजनिक गरेको हो ।

एक वर्षको अवधिमा सम्पन्न भएका उत्कृष्ट कामहरु सार्वजनिक गरिएको अध्यक्ष चौलागाईंले बताए ।

गाउँपालिकाका मुख्य उपलब्धिहरुमा कार्यसम्पादन सम्झौतादेखि ऐन तथा नियम निर्माणसम्म रहेका छन् । यस्तै समयमै योजना सम्झौता तथा भुक्तानीलाई पनि गाउँपालिकाले उपलब्धीको रुपमा सार्वजनिक गरेको छ । आर्थिक रुपमा विपन्न गाउँपालिकाबासी मानबहादुर र गोरीकलाको आवास निर्माणलाई उपलब्धीको रुपमा सार्वजनिक गरिएको हो ।

उत्कृष्ट कार्यको चार नम्बर बुँदामा तातोपानी टाइम्स लागू गरिएको र खाँदा मुक्त गरिएको उल्लेख छ । तातोपानी टाइम्स आगू गर्ने तातोपानी गाउँपालिका पहिलो पालिका हो । यस्तै महिनाको अन्तिम शनिबार श्रमदान अभियानलाई पनि उत्कृष्ट कार्यको रुमा समावेश गरेको छ । गाउँपालिकाको यो अभियानको निकै चर्चा भएको थियो । तातोपानी गाउँपालिकाले गरेका उत्कृष्ट कार्यमध्ये गिडी दह सम्मेलन हो । यो बुँदा पनि उपलब्धी नम्बर ६ मा उल्लेख गरिएको छ ।

गाउँपालिका अन्तर्गतका कार्यालय र विद्यालयहरुमा डिजिटल हाजिरी जडान, लाउरी रावल पुनःस्थापना, विपद्बाट क्षतिग्रस्त सडकको तत्काल मर्मत सम्भार,बृहत निःशुल्क स्वास्थ्य शिविर, महिला स्वास्थ्य स्वयमसेविकालाई मोबाइल वितरण, प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन,जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण,निःशुल्म स्वास्थ्य बीमा कार्यक्रम र बाढी पीडितहरुलाई राहत वितरणलाई गाउँपालिकाले उत्कृष्ट कार्यका रुपमा सार्वजनिक गरेको हो ।

उत्कृष्ट कार्यहरुको १० नम्बर बुँदामा पालिकाको आफ्नै गान र लोगो निर्माणलाई उल्लेख गरिएको छ । यो कार्यपनि जुम्ला जिल्लाकै पहिलो स्थानीय सरकारको राम्रो काम हो ।सुरक्षित आवास कार्यक्रम सुरु गरिएको, शैक्षिक क्षेत्र सुधारका लागि अनुगमन र ऐन नियम निर्माण गरिएको उल्लेख गरिएको छ । एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्ने पनि तातोपानी गाउँपालिका जुम्ला जिल्ला मै पहिलो स्थानीय सरकार बनेको छ ।