मार्सी धानको खेती ओझेलमा पर्ने चिन्तामा किसान ।

डिल्ली अन्जान

जुम्ला —जुम्लाको तातोपानी गाउँपालिकामा असार नजिकिँदै गर्दा  किसानहरु मार्सीधान रोपाइँमा व्यस्त हुन थालेका छन् । तर मार्सीधानमा लागेको ब्लास्ट रोगले उनीहरूमा चिन्ता जागेको  छ । हालै सम्पन्न २० औं राष्ट्रिय धान दिवसका रुपमा आयोजित रोपाइँ महोत्सवका क्रममा स्थानीय किसान तथा अगुवाहरूले जुम्ली पहिचानको रुपमा चिनिएको मार्सीधान संरक्षणमा चासो दिएको पाइन्छ  । यस क्रममा उनीहरूले धानमा लाग्ने रोग रोकथामका उपाय खोज्न स्थानीय सरकारलाई आग्रह गरेका छन ।

मार्सीधानको पहिलो परिक्षण नै तातोपानीको लाछु जिउलोमा रहेको गुरुफोक्टोमा गरिएको हो । हरेक वर्ष यहाँ रोपाइँ महोत्सव आयोजना हुने गरेको छ । महोत्सवमा किसानहरूले  कालीमार्सी धानको खेती विस्तारका लागि चिन्ता व्यक्त गरेका छन  ।

गत वर्ष भने लाछु जिउलोको केही भाग बाढीले बगाइदिएपछि किसानको ठूलो मात्रामा बाली नष्ट भएको थियो । त्यसैले पनि किसानहरूले यसपटक नदी किनारमा बाक्लो तटबन्धन बनाइदिन आग्रह गरेका छन् ।

जुम्लामा २ हजार ८ सय हेक्टरमा मार्सीधान खेती भइरहेकोमा घटेर हाल १ हजार ४ सय ५० हेक्टरमा मात्र मार्सीधानको खेती भइरहेको छ । बाँकी सिँचाई योग्य जमिनमा चन्दननाथ १ र ३, लेकाली १ र ३ जातको धान रोपिरहेको किसानहरु बताउँछन् ।