शुभाकर विश्वकर्मा,जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर २ स्थित श्री हिम शिखर माध्यमिक विद्यालयले विद्यालयका शिक्षकलाई दुई महिनाको तलब नदिएको पाइएको छ । यही जेष्ठ ८ गते राजिनामा दिएका शिक्षक भोजराज न्यौपानेले आफु कार्यरत रहदाँ दुई महिना सात दिनको मासिक तलब, पोसाक भत्ता र दुर्गम भत्ता विद्यालयले नदिएको आरोप लगाएका छन् । उनले भने,‘मैले आफ्नो श्रम गरेको तलब माग्दापनि पाएको छैन । माग्दापनि दिएका छैनन् । विद्यालयका जिम्मेवार व्यक्ति तलब माग्दा बाहना मात्रै गर्छन् । मलाई अन्याय भएको छ ।’
श्री हिम शिखर माध्यमिक विद्यालय
उनी २०७८ चैत १ गतेबाट विद्यालयमा माध्यमिक तह तृतीय श्रेणी गणित विषयको अस्थायी करार पदमा नियुक्त भएका थिए । शिक्षक नियुक्तिका लागि विद्यालयले २०७८ साउन ८ गते विज्ञापन गरेको थियो । तत्कालीन विव्यस अध्यक्ष धन बहादुर बुढाको अध्यक्षतामा बसेको २०७९ वैशाख ८ गते बसेको बैठकले विज्ञापन अनुसार रित पुर्वक निवेदन दिएका न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विद्यालयले शिक्षक न्यौपानेलाई प्रदान गरेको नियुक्ति पत्र
विद्यालयले न्यौपानेलाई २०७८ चैत ९ गते बसेको शिक्षक छनोट समितिको निर्णय अनुसार सोहीदिन देखि लागू हुने गरि माध्यमिक तह तृतीय श्रेणी गणित विषयको अस्थायी करार पदमा नियुक्त गरेको थियो । विद्यालयका प्रधानाध्यापक धन बहादुर रोकायाद्वारा हस्ताक्षरित नियुक्त पत्रमा भनिएको छ,‘शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०३९ अनुसार विद्यालय प्रशासन र प्रधानाध्यापकको मातहतमा रहेर कामकाज गर्नुहोला ।’
धन बहादुर बुढा अध्यक्ष हुँदा बसेको विव्यस बैठकको निर्णयको प्रतिलिपि
सोही अनुसार न्यौपानेले २०७८ चैत ९ गतेदेखि २०८० जेष्ठ ७ गतेसम्म इमान्दारी पुर्वक काम गरेपनि । न्यौपानेले आफु कार्यरत पदबाट २०८० जेष्ठ ८ गते राजिनामा दिएका थिए । उनले विद्यालय छोड्दा २०७९ चैत महिना,२०८० वैशाख महिनाको मासिक र जेष्ठ सात गतेसम्मको पारिश्रमिक र वर्षभरी गरेर एकमुष्ट पाउनु पर्ने पोसाक भत्ता समेत पाएका थिएनन् ।
न्यौपाने भन्छन्, ‘मैले मेरो सेवा गरेको अवधिको नियम अनुसार पाउनुपर्ने तलब मात्रै मागेको हो । अहिले त ऋण मागेको जस्तो भएको छ । जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारले आजित भइसके । त्यसैले मैले न्याय पाउछु कि भनेर मिडिया गुहारेको हुँ ।’
शिक्षक न्यौपानेको विद्यालयमा उपस्थित भएको हाजिरी
तलब,महंगी भत्ता र दुर्गम भत्ता गरेर उनले मासिक ५७ हजार ६ सय ८९ रूपैयाँ पाउदै आएका थिए । चैत र वैशाख महिनाको पूरा तलब,वर्षमा एकमुष्ट पाउनुपर्ने पोसाक भत्ता १५ हजार र जेष्ठ महिनाको एक हप्ताको हुन आउने १३ हजार ४ सय ६० गरि कुल १ लाख ४२ हजार रूपैया पाउन बाँकि रहेको न्यौपानेले बताए । बारम्बार विद्यालयमा धाउदा धाउदा आफुले पाउनु पर्ने कुल रूपैयाँ मध्ये विद्यालयले यही असार ३१ गते ३६ हजार हालिदिएको न्यौपाने बताउँछन् । अब अझै उनले हिम शिखर माविबाट जम्मा १ लाख ६ हजार रूपैया पाउन बाँकी छ ।
शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाले गरेको अभिलेखीकरण पत्र :
न्यौपाने, बाँकी तलब पाउनको लागि आफुले अहिले विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष र लेखापाल गुहारिरहेका छन् । ‘ प्रधानाध्यापकलाई फोन गरेपछि कहिले म सुर्खेत छु भन्छन् । कहिले मोटरसाइकलमा छु भन्छन् । बुझ्नुपर्छ भन्छन् छलफल गर्छु भन्छन्,’ जुम्ला दर्पण डटकमसंग कुराकानी गर्दै उनी भन्छन्,‘ लेखापाल केही भन्दैनन् । के के कुरा कटाए भन्छन् । विव्यस अध्यक्षले पनि खास्सै वास्ता गरेका छैनन् ।’ न्यौपाने अहिले गंगा मावि पेरेमा कार्यरत छन् ।
विव्यस अध्यक्ष भन्छन् : माग गरिएको छ, उहाँको तलब दिन्छौ
शिक्षक न्यौपानेले आफुले तलब नपाएको गुनासो गरेपनि जुम्ला दर्पणले विद्यालय प्रशासनसँग बारम्बार संवादका लागि प्रयास गरेको थियो । विद्यालयका प्रधानाध्यापक धन बहादुर रोकायालाई दुईपटक फोन गर्दापनि उठेन ।
निकै प्रयासपछि जुम्ला दर्पणको सम्पर्कमा आएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण न्यौपानेले भने शिक्षक न्यौपानेको तलब दिन बाँकी रहेको स्वीकार गरेका छन् । आफ्नो तलबको लागि शिक्षक न्यौपानेले आफुसँग पनि कुरा गरेको र विद्यालय प्रक्रियामा रहेको उनको भनाइ छ ।
‘ उहाँ राजिनामा दिएर जानु भएको हो । उहाँको तलब बाँकी रहेको बुझिरहेको छ,’ विव्यस अध्यक्ष न्यौपानेले भने, ‘ पहिला माग गर्न छुटेको रहेछ । उहाँसंगै अन्य शिक्षकको तलबको लागि गाउँपालिकासँग माग गरिएको छ । आयो भने उहाँलाई जसरीपनि तलब दिन्छौ । उहाँले काम गरेकार तलब नदिने भन्ने हुँदैन ।’ उनले शिक्षक न्यौपानेको विद्यालयमा केही तिरनतारन पनि बाँकी रहेको बताएका छन् । विद्यालयमा नास्ता खाएको पैसा नदिएको बुझिएको अध्यक्ष न्यौपानेको भनाइ छ । विद्यालयका लेखापाल समेत रहेका विनोद रावलले विद्यालयमा क्यान्टिन सञ्चालन गर्दै आएका छन् ।
जुम्ला दर्पण । ११ श्रावण २०८०, बिहीबार १६:४१