जुम्ला ः नेपाली कांग्रेस निकट नेपाल तरुण जुम्लाको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्वका आकांक्षी धेरै भएपछि निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व चयन हुने भएको हो । तरुण दलको ५औँ जिल्ला अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिएको थियो ।
सुरुमा अध्यक्षको लागि १४ जनाले आकांक्षा देखाएका थिए । चर्को गुटगत राजनीति हुने गरेको तरुण दलको नेतृत्वमा अन्तत ६ जना चुनावी मैदानमा होमिएका हुन् । निर्वाचन समितिका संयोजक भक्त बुढाले नयाँ नेतृत्वको लागि ६ जनाले उम्मेदवारी दर्ता गराएको बताए । उनका अनुसार अब नयाँ नेतृत्वको लागि ६ जनाबीच प्रतिष्पर्धा हुनेछ ।
अध्यक्षका लागि सञ्जिव रावल,रतन शाही,भरत शाही,हेम बुढ्थापा,वीरेन्द्र शाही र राजेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । चर्को गुटगत राजनीति हुने गरेको नेपाली कांग्रेसको भातृ संगठनको नयाँ नेतृत्वको लागि सोही बमोजिम उम्मेदवारी दर्ता भएको छ । निर्वाचनमा संस्थापन र इतर पक्षबीच अघोषित प्रतिष्पर्धा हुने देखिएको छ ।
दुई समूहबीचको अस्तित्वको लडाईको रुपमा समेत हेरिएको छ, नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयनको विषयलाई । क्षेत्रगत हिसाबमा हेर्दा सञ्जिव,भरत र रतन सिंजा क्षेत्रका हुन् भने हेम र राजेन्द्र खलंगा क्षेत्रका हुन् । वीरेन्द्र शाही भने पानसय क्षेत्र अन्तर्गत तातोपानी गाउँपालिकाका हुन् ।
सिंजा र खलंगा क्षेत्रका उम्मेदवारहरुले नै फरक गुटको प्रतिनिधित्व गर्छन् । सिञ्जा क्षेत्रका सञ्जिव संस्थापन पक्ष निकट मानिन्छन् । विद्यार्थी राजनीति हुदैँ तरुण दलको राजनीतिमा होमिएका रावल काठमाडौंस्थित शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघ ‐नेविसंघ) को इकाई सदस्य रहेका छन् ।
तरुण दलको केन्द्रीय सदस्य समेत बनिसकेका रावल नेतृत्वका दाबेदारका रुपमा हेरिएको छ । हिमा–१ का वडाअध्यक्षसमेत रहेका रतन शाही लामो समयदेखि भातृ संगठनको राजनीतिमा क्रियाशील हुँदै आएका छन् । वडा अध्यक्षको जिम्मेवारीमा समेत रहेका शाही संगठन निर्माणमा शसक्त मानिन्छन् । हालसम्म कुनैपनि पक्षमा नखुलेका शाहीलाई संस्थापन इतर पक्षको साथ रहेको चर्चा छ ।
हिमा गाउँपालिकाकै भरत शाहीमाथि हालसम्म कुनैपनि समूहको समर्थन छैन । उनी हालसम्म औपचारिक रुपमा संस्थापन र इतर समूह कतैबाटपनि खुलेका छैनन् । अन्तिममा उनी आफूलाई सर्मथन गर्ने समूहबाट खुल्न सक्ने आकलन गरिएको छ ।
शाही पनि विद्यार्थी राजनीतिबाटै सक्रिय हुँदै आएका हुन् । हाल उनी तरुण दलमा सक्रिय छन् । विचारमा परिपक्वता र सर्मपण उनको खास परिचय छ ।
चन्दननाथ नगरपालिका–२ का वडा अध्यक्षसमेत रहेका हेम बुढथापा संस्थापन समूहबाट चुनावी मैदानमा होमिएका छन् । उनी २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।
संस्थापत समूहको आर्शिवाद प्राप्त बुढ्थापा उम्मेदवारी दर्ता गराएका ६ जनामध्ये सबैभन्दा बलिया प्रतिष्पर्धी हुन् । संस्थापन समूहको दाबी छ,‘बुढ्थापा नै जित्न सक्छन्।’ हाल उनी तरुण दल जुम्लाका सचिव छन् ।
चन्दननाथ–५ का राजेन्द्र श्रेष्ठ पनि चुनावी मैदानमा होमिएका छन् । विद्यार्थी राजनीतिबाटै तरुणको राजनीति गरिरहेका श्रेष्ठपनि अहिलेसम्म कुनैपनि गुटमा खुलेका छैनन् । २०७९ को निर्वाचनमा उनका बुवाले वडा नम्बर ५ को अध्यक्षमा बागी उम्मेदवारी दिएका थिए । यद्यपी उनी पराजित भए ।
तातोपानी गाउँपालिकाका विरेन्द्र शाही सामाजिक कार्यमा समेत सक्रिय रहेका युवा हुन् । युवामाझ लोकप्रिय उनी युवाको आवाज र अधिकारको पक्षमा लामो समयदेखि जुटिरहेका छन् । भलिबल खेलाडीकोसमेत परिचय बनाएका शाही पनि चुनावी मैदानमा होमिएका छन् ।
आइतबारबाट निर्वाचनको थप प्रक्रिया सुरु हुनेछ । मतदान प्रक्रियासम्म पुग्दा गुटगत प्रतिष्पर्धा अझ मुखर हुने अपेक्षा गरिएको छ । पार्टी निकट संगठनको चुनाव भएका कारण पार्टी नेतृत्वले समेत हस्तक्षेप गर्ने सम्भावना उत्तिकै छ । करिब एक दशकपछि हुन लागेको नेपाल तरुण दल जुम्लाको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।
जुम्ला दर्पण । ११ श्रावण २०८२, शनिबार २२:३१