जुम्ला, असार २१ । जुम्ला जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित भएको छ। खोप उमेर समूहका सबै बालबालिकाले नियमित खोप प्राप्त गरेकाे पुष्टि भएसँगै शनिवार एक औपचारिक कार्यक्रमकाे बीच जुम्ला जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो।
जुम्ला सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी केदानाथ शर्मा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा औपचारिक घोषणा गरिएको हो।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका आठवटै स्थानीय तहका खोप उमेर समूह (१६ देखि ५९ महिनासम्म) का बालबालिकाले नियमित खोप प्राप्त गरेका छन्। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बीसीजी, डिपिटी, दादुरा, रुवेला लगायतका खोप प्रदान गरिएको छ।
१२ बालबालिका छुटिएकै थिए, खोजी गरी लगाइयो खोप
प्रमुख सापकोटाका अनुसार प्रारम्भिक सर्वेक्षणमा जिल्लामा रहेका ४ हजार २६१ जना बालबालिकामध्ये १२ जना खोप पाउनबाट छुटेका थिए। ती बालबालिकालाई छुट्टै पहिचान गरी खोप प्रदान गरिएपछि सबै बालबालिका खोपको पहुँचमा पुगेको सुनिश्चित गरिएकाले पूर्ण खोप घोषणा सम्भव भएको हो।
यो कार्यक्रम सन् २०७९ सालदेखि सुरु गरिएको थियो। खोप सुनिश्चितताको लागि “पूर्ण खोप निर्देशिका २०७१ (संशोधन २०७८)” अनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई सम्पूर्ण तालिका अनुसार खोप दिनुपर्ने प्रावधान छ।
खोप केन्द्र र उपलब्धता
जुम्लाका ८ स्थानीय तहमा ६० वटा संस्थागत खोप केन्द्र, ४४ वटा बाह्य खोप केन्द्र गरी मासिक १०४ खोप केन्द्रबाट १०७ खोप सेसनमार्फत खोप सेवा उपलब्ध गराइएको थियो। एक वर्षमुनिका बालबालिकाको लक्षित जनसंख्या २,०१७ जना रहेकोमा खोप प्राप्त गर्ने दर झन्डै ९० प्रतिशत पुगेको स्वास्थ्य संस्थाको प्रतिवेदनले देखाएको छ।
कुन पालिका कहिले घोषित भए?
स्वास्थ्य शाखाका अनुसार स्थानीय तहमा क्रमशः निम्न मितिमा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो:
चन्दननाथ नगरपालिका – २०८२ वैशाख १२ गते
सिँजा गाउँपालिका – २०८२ वैशाख २५ गते
हिमा गाउँपालिका – २०८२ वैशाख ३१ गते
कनकासुन्दरी गाउँपालिका – २०८२ जेठ ८ गते
पातारासी गाउँपालिका – २०८२ जेठ ९ गते
तिला गाउँपालिका – २०८२ जेठ ११ गते
तातोपानी गाउँपालिका – २०८२ असार ५ गते
स्थायीत्वका लागि दिगोपनाको योजना
स्वास्थ्य कार्यालयले खोप सुनिश्चितताको स्थायीत्वका लागि दिगोपनाको योजना पनि अघि सारेको छ। खोप उपलब्धता, जनशक्ति, अभिलेख व्यवस्थापन, जनचेतना, सुपरिवेक्षण र बजेट सुनिश्चितता आदिका आधारमा जिल्लाले दिगोपना मापदण्ड पनि पूरा गरेको स्वास्थ्य कार्यालयको दाबी छ।
कार्यक्रममा सरोकारवाला निकायहरूले पूर्ण खोप सुनिश्चितता स्थायी रूपमा कायम राख्ने प्रतिबद्धता जनाएका थिए।

डिल्ली कामी । २१ असार २०८२, शनिबार १४:५८