दुर्गम हियाखोला गाउँ वर्षौदेखि सञ्चारविहीन

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ६ निवासी ६८ वर्षीय हर्क कामीले सचार असुविधा भोग्दै आएको करिब पाँच दशक बित्यो । आफन्त संग कुराकानी गर्नका लागि डाँडा धाउनु पर्ने,विगतको जस्तो समस्या अहिले पनि ज्युँका त्युँ छ । स्थानीय सरकार आएपछि हियाखोलामा थुप्रै विकास भयो ।

तर संचार विकास ओजेलमा पर्यो । हर्क कामी भन्छन,“स्थानीय सरकारले गाउँमा खानेपानी,सडक बत्ती, पुरायो । कृषि, शिक्षा, उद्यमशीलतामा पनि लगानी बढ्यो । सामाजिक चेतना अभिबृद्धि,महिला शसक्तिकरणमा पनि उल्लेखीय विकास भयो । विडम्बना आधारभुत आबश्यकता भित्र पर्ने संचारको विकास हुन सकेन् । जसका कारण एक अर्कामा हामी सम्पर्क विहिन हुन बाध्य छौ ।”

 

सबैका हातमा स्मार्ट फोन छन् । अहिलेको समयनै प्रविधिको समय हो । तर गाउँमा संचार सुविधा नहुँदा स्मार्ट फोनको पनि कुनै औचित्य नरहेको स्थानीय लालसिंह कामीले बताए । उनले भने,“स्मार्ट फोनबाट आफन्तलाई भिडियो कल गर्ने,ईन्टरनेट चलाउने त कल्पना छैन् । विशुद्ध फोन गर्न पनि डाँडा धाउनु पर्ने बाध्यता छ । अहिले सम्म गाउँमा टेलिफोन टावर निर्माण हुन सकेको छैन् ।”

हियाखोला गाउँको पूर्वाधार विकास,उद्यमशीलता र सामाजिक शसक्तिकरणका लागि मोटो रकम लगानी गर्दै आएको स्थानीय सरकार संचार सेवा विस्तार गर्न भने चुकेको देखिन्छ । संचार असुविधाकैै कारण तातोपानी वडा नं। ६ स्थित हियाखोला गाउँ पालिकाकै दुर्गम गाउँका रुपमा कहलिएको छ ।

कर्णाली राजमार्ग करिब १० मिनेटको पैदल यात्राबाट उक्त गाउँ पुग्न सकिन्छ । गाउँछेउमै शसस्त्र प्रहरी वलको गण बस्दै छ । त्यहि पालिकाले ५ शैयाको अस्पताल बनाउदै छ । भने कृषि उत्पादनको सम्भावना उत्तिकै छ । त्यति सम्भावना र पूर्वाधारको विकास भईसक्दा पनि संचार सुविधा नभएकै कारण हियाखोला बासीले विकासको अनुभुति गर्न सकेका छैनन् । भने गाउँकैै दुर्गमका रुपमा चिनिदै आएको छ ।

करिब एक सय घरधुरी रहेको हियाखोला गाउँमा दलित समुदायको बढी बाहुल्यता छ । अहिले सम्म एकजना सरकारी जागिरे उत्पादन गर्न नसकेको उक्त गाउँका नागरिकले सूचना आदान प्रदानका लागि ज्याला मजदुरी गरेर पनि स्मार्ट मोबाईल किनेका छन् ।

मुलुकमा फोरजी सेवाको विस्तार गई गाउँ गाउँमा फाष्ट फाईबर नेट पुगिसकेको अबस्थामा समेत हियाखोलामा टेलिफोनकै पिरलो हुनु दुखद पक्ष भएको स्थानीय प्रकाश कामी बताउँछन् । उनी भन्छन,“मान्छे भोक नभई सूचना नपाएर मर्छ भन्ने कथन अहिले पनि जिवित छ । तर अहिले सूचनाको युग हो । सूचना विश्व साँघुरिएको छ भनिरहँदा त्यहि सचारको विकास नहुँदा हियाखोला संचार विहिन बनेको छ । त्यसैले स्थानीय सरकारले यस विशेष पहल गर्न जरुरी छ ।”

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले थुप्रै सम्भावना र पूर्वाधार विकास भएर पनि संचार असुविधाकै कारण हियाखोला दुर्गम बनेको बताए । उनले भने,“पालिकामा स्रोत सिमित छ । नागरिकका आबश्यकता असिमित छन् । त्यसैले सबै काम पालिकाबाटै सम्भव छैन् । तर हियाखोला गाउँमा सचार सेवा विस्तार गर्न समन्वय र पहल गरिरहेका छौ ।”

तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले हियाखोलाको विकास पहिलो प्रथामिकतामा रहेको बताए । पहिलो कार्यकालमा अन्य क्षेत्रको आधारभुत विकास भईसकेकोले अबको प्रथामिकता ंसंचार सेवा विस्तारमा जोड दिईने उनको भनाई छ ।