तिला गाउँपालिका– ५ बालविवाह मुक्त वडा घोषणा

नवराज वि.क

जुम्ला । जुम्लाको तिला गाउँपालिका– ५ बालविवाह मुक्त वडा घोषणा भएको छ । सरोकारवाला,निकाय, महिला बालबालिकाको उपस्थितिमा एक कार्यक्रमका बीच साेमबार वडालाई बालविवाह मुक्त घोषणा गरिएको वडा सचिव ललित कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।

वडाध्यक्ष ललित शाहीका अनुसार उमेर नपुगीहुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउने छौँ । सानो उमेरमा गरिने विवाहले प्रजनन स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम वडा पालिकाले प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।

बालविवाह न्यूनीकरण गर्नका लागी साझेदार संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले नेपाल र  वल्डभिजन इन्टरनेशनल लगायत गैरसरकारी संस्थाको समन्वयमा बालविवाह वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष माेतीलाल राेकायाले जानकारी दिनुभयो ।

बालविवाह मुक्त अभियानमा स्थानीय सरकारसँगै सरोकारवाला निकाय र स्थानीय गैरसरकारी संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ । आगामी दिनमा यस वडामा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याइने गाउँपालिकाका अध्यक्ष राेकायाकाे भनाइ छ ।

बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

अब पालिका ९ वटा वडामध्ये१,२,३,७ र ९ वडालाई छिट्टै बालविवाह मुक्त वडा घोषणाको तयारीमा जुटेको तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।