जुम्ला : नेपाल पत्रकार महासंघ जुम्ला सह-सचिव सागर परियारले एक आर्थिक अवस्था कमजोर भएकी बालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा पत्रकार परियारले तातोपानी ६ निवासी १२ वर्षीय निरु कामीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
परिवारको आर्थिक अवस्था नाजुक रहेकी निरु दुर्गा मावि लाम्रामा अध्ययनरत छिन् । पढाईमा अब्बल निरु घरको आर्थिक अवस्था कमजोर भएका कारण समस्या भोग्दै आएकी थिइन् । आमा शोभा कामीले ज्यालादारी गरेर उनको पढाइ खर्च जोहो गर्दै आएकी छन् ।
उनका बुवाको १० वर्ष अगाडि भारतमा रोजगारीको क्रममा निधन भएको थियो । तीन दिदीबहिनी मध्ये निरु कान्छी हुन् । माइती दिदी सरिता भारतमा मजदुरी गर्छिन् भने जेठी दिदीले पनि आर्थिक अवस्था कमजोर भएका कारण बीच मै पढाइ छोडिन् । अहिले उनीहरुको पालनपोषण आमा शोभा र हजुरआमा बेलु कामीले गर्दै आएका छन् ।
तातोपानी ६ का वडाअध्यक्ष विशाल खड्काको उपस्थितिमा निरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त अवसरमा बोल्दै पत्रकार परियारले जन्मदिनलाई तडकभडक भन्दापनि सामाजिक कार्य गरेर मनाउनुपर्छ भन्ने साथीहरुको सल्लाह अनुसार विपन्न बालिकालाई सहयोग गरिएको बताए । उनका अनुसार पछिल्लो समय जन्मदिनको नामा फाल्तु खर्च गर्ने क्रममा बढ्दो छ ।
जन्मदिनलाई अनावश्यक खर्च गरेर भन्दापनि मानवीय काम गरेर मनाउनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ ।
‘ हामीले पत्रकारिताको माध्यमबाट समाज सेवा गरिरहेका छौ । विगतमा पनि यस्ता धेरै विपन्नहरुलाई सहयोग अभियान सञ्चालन गरेका थियौ । आज एकजना विपन्न बालिकालाई सहयोग गर्ने अवसर जुरेको छ । सहयोगका माध्यमबाट हामी जोडिएका छौ । उनको पठनपाठनमा समस्या हुन दिने छैनौ,’पत्रकार परियारले भने ।
पत्रकार परियार जुम्लामा सक्रिय पत्रकारिता गरिरहेका छन् । उनले आफ्नै अगुवाईमा गम्भीर रोगसँग लडिरहेका तर आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकको उपचारका लागि सहयोग अभियान सञ्चालन हुँदै आएका छन् ।
पत्रकारितासँगै समाजसेवालाई समेत संगसंगै लिएका परियार पत्रकारिता र समाज सेवा आफ्ना प्राथमिकता भएको बताउँछन् ।
वडाअध्यक्ष विशाल खड्काले जन्मदिनको अवसरमा विपन्नलाई आर्थिक सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए । उनी भन्छन्, ‘सागरजीले उदाहरणीय काम गर्नु भएको छ । जन्मदिनमा विपन्नलाई सहयोग गर्ने कार्यको प्रशंसा गर्न चाहन्छु । उहाँ मात्रै होइन अन्य पत्रकारहरुले समेत यस्तो कार्य गर्नुहुनेछ भन्ने मेरो आशा छ ।’
निरुको पढाईको लागि वडा सरकार समेत सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।
पत्रकारिता पेशा मात्रै नभएर समाजसेवासमेत भएको भन्दै जन्मदिनमा विपन्नलाई सहयोग गर्नु उदाहरणीय कार्य भएको पत्रकार महेश नेपालीले बताए ।
‘सागरले पछिल्लो समय आफूलाई पेसामा अब्बल सावित गरिरहेका छन् ।समाजसेवामा समेत उनको लगाव लोभलाग्दो छ । एकजना श्रमजीवी पत्रकारले कलमका माध्यमबाट धेरै जीवन बचाउन सक्छ भन्ने उदाहरण सागर हुन् ।’ उनले भने ।
आफ्नी कान्छी छोरीको पढाईको लागि शैक्षिक सामग्री सहयोग गरेको भन्दै निरुकी आमा शोभा कामीले धन्यवाद प्रकट गरिन् ।
रेडियो नेपाल र कारोबार दैनिकका लागि जुम्ला संवाददाता समेत रहेका परियारले निरुलाई तीन दर्जन कापी, एक थान झोला,एउटा ज्यामिति बक्स, दुई दर्जन कलमसहित शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।
जुम्ला दर्पण । ११ आश्विन २०८०, बिहीबार १४:००