जुम्ला । जुम्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार छन् । सदरमुकाम खलङ्गा बजारमा आज आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।

सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायदेखि राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका थिए । विशेषगरी राजनीतिक दललाई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायको सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

जुम्ला दर्पण । १७ माघ २०८२, शुक्रबार १९:१०