जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक सार्वजनिक सुनुवाई गरेकाे छ । गाउँपालिकाकाे आयाेजनामा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे हाे । सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले गत आ.व.मा पालिकाको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा पत्रकार महेश नेपालीले स्थानीय सरकारकाे सेवा सर्वेक्षण सम्बन्धि ८ वटै वडाका विभिन्न बस्तीमा पुगेर तयार गरिएको `नमुना नागरिक सर्वेक्षण´को प्रतिवेदन पेश गरेका थिए ।
८ वडाका ५० जना सर्वसाधारण हरुसँग प्रत्यक्ष भेटेर प्रश्न गरेर नागरिक सर्वेक्षण प्रतिवेदन तयार गरिएकाे थियाे । प्रतिवेदन अनुसार स्थानी सरकारले प्रवाह गनर्ने सेवा प्रति नागरिकमा तीव्र असन्तुष्टि छ । कनकासुन्दरीमा जनप्रतिनिधि भन्दा कर्मचारीप्रति असन्तुष्टि रहेकाे पाइएकाे हाे । सेवा लिन जाँदा कर्मचारीको व्यवहार र पालिका प्रति ६२ प्रतिशत नागरिक असन्तुष्ट रहेको पाइएको हाे । सबैभन्दा धेरै पालिकादेखि वडामा राखिएको नागरिक वडापत्रबारे कनकासुन्दरीका ८० प्रतिशत नागरिकले थाहा नपाएको बताएका छन् ।
गाउँपालिका र वडा पालिकाबाट कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा ८० प्रतिशत नागरिकले ठिकै रहेको बताउँदा १४ प्रतिशत नागरिक असन्तुष्ट छन् । साथै एकै कामका लागि ४० प्रतिशत नागरिकले दुई पटक भन्दा बढी समय कार्यालय धाउनु पर्ने बाध्यता रहेको बताएका छन् ।
यो प्रतिवेदनले कनकासुन्दरी गाउँपालिकाका कर्मचारीले सेवा प्रवाह गर्दा आफ्नो स्वभावमा सुधार गर्नु पर्ने,नागरिकका आवश्यकतामा आधारित विकास गर्नु पर्ने पर्ने देखाएको छ । सार्वजनिक सुनुवाइमा पालिकाको समृद्धि,विकास,सेवा सुधारका लागि करिब २० जना बढिले प्रश्न जिज्ञासा सोधेका थिए । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत देखि विषयगत शाखा प्रमुखले जवाफ दिएका दिएका थिए ।
गाउँपालिका अध्यक्ष दामोदर आर्चायले समृद्ध कनकासुन्दरीका खाँका कोर्न लागिएको बताए । `पहिलो वर्ष सिक्दै बित्यो । पूर्वाधार विकास यहाँको आवश्यकता हो । गाउँ वडा,भूगोल,बस्ती जोड्न पक्की पुल निर्माणमा जोड दिइने छ । सेवा सुधारमा पनि हामी त्यतिकै जिम्मेवार भएर लाग्ने छौ ।´ उनले भने ।
गाउँपालिका उपाध्यक्ष प्रेम कली बुढाले आन्तरिक आय वृद्धिमा वडादेखि गाउँपालिका जुट्नु पर्ने बताइन् सीमित स्रोत र असीमित आवश्यकताले चुनौती थपिएको छ । कुनै पूर्वाग्रह नराखी माग र आवश्यकता आधार विकास गरिनेमा जोड दिए ।
कार्यक्रममा सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, युवा, महिला, दलितको सहभागिता थियो । भने सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सिंजा मल्टी मिडिया प्रालीले गरेको हो ।
जुम्ला दर्पण । १६ आश्विन २०८०, मंगलवार २०:०३